काठमाडौं,०४ जेठ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले शीर्ष स्थानमा रहेको स्कटल्यान्डलाई ६ विकेटले पराजित गर्दै शानदार जित दर्ता गरेको छ।
जितका लागि १९५ रनको लक्ष्य पछ्याएको नेपालले ३८.१ ओभरमा ४ विकेटको क्षतिमा १९९ रन बनाउँदै खेल आफ्नो पक्षमा पारेको हो। यो जितसँगै नेपाल अङ्कतालिकामा दुई स्थान माथि उक्लिँदै पाँचौँ स्थानमा पुगेको छ।
नेपालका लागि कप्तान रोहित पौडेल र युवा ब्याटरले उत्कृष्ट साझेदारी गर्दै जितको आधार तयार पारे। रोहितले अविजित ७४ रनको संयमित इनिङ्स खेले भने इशान पाण्डेले ५५ रनको महत्वपूर्ण योगदान दिए। ओपनिङमा कुशल भुर्तेल र आसिफ शेखले पनि राम्रो सुरुआत दिएका थिए।
बलिङतर्फ नेपालका स्पिनर ललित राजवंशीले ४ विकेट लिँदै स्कटल्यान्डको ब्याटिङ लाइनअप ध्वस्त पारे। नन्दन यादव, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले पनि महत्वपूर्ण विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको स्कटल्यान्ड १९४ रनमै अलआउट भएको थियो। ब्रेन्डन म्याकमुलेनले ७३ रनको आक्रामक इनिङ्स खेले पनि अन्य ब्याटरले ठूलो योगदान दिन सकेनन्।
खेलको सबैभन्दा ऐतिहासिक क्षण लेग स्पिनर सन्दीप लामिछानेको प्रदर्शन रह्यो। उनले १० ओभरमा ३ विकेट लिँदै एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट पूरा गर्ने विश्व कीर्तिमान तोडे। उनले अस्ट्रेलियाका मिचेल स्टार्कको पुरानो कीर्तिमानलाई पछि पार्दै नयाँ इतिहास रचे।
यो जितपछि २७ खेलबाट २२ अङ्क जोडेको नेपाल पाँचौँ स्थानमा उक्लिएको छ भने ३८ अङ्कसहित स्कटल्यान्ड शीर्ष स्थानमै कायम छ। नेपालले अब शृङ्खलाको अन्तिम खेल अमेरिकासँग खेल्नेछ।



