spot_img

निर्वाचन सुरक्षाका लागि आजदेखि नेपाली सेनासहित चारवटै सुरक्षा निकाय परिचालन

spot_img
spot_img

काठमाडाैं,२१ माघ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन आजदेखि नेपाली सेनाको संयोजनमा चारवटै सुरक्षा निकाय परिचालनमा आएका छन्।

सरकारले यसअघि नै स्वीकृत गरेको प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ अनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागलाई एकीकृत रूपमा परिचालन गरिएको हो। आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्थालाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने उद्देश्य लिइएको छ।

एकीकृत सुरक्षा योजनाअनुसार नेपाल प्रहरी र निर्वाचन प्रहरीले मतदानस्थलको भित्री घेराको सुरक्षा गर्नेछन् भने दोस्रो घेराको जिम्मेवारी सशस्त्र प्रहरी बलले लिनेछ। सशस्त्र प्रहरीले नेपाल प्रहरी र नेपाली सेनासँग समन्वय गरी काम गर्नेछ। नेपाली सेना भने बाहिरी सुरक्षा घेरामा रही संवेदनशील जिम्मेवारी सम्हाल्नेछ। सेनाले आजदेखि देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा फौज परिचालन गर्ने जनाएको छ।

निर्वाचन सुरक्षाका लागि राष्ट्रपति रामचन्द्र पौडेलले गत मङ्सिर ११ गते प्रधानमन्त्रीको सिफारिस तथा मन्त्रिपरिषद्को निर्णयअनुसार नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गरेका थिए। सेनाले निर्वाचन अवधिभर आवश्यकता अनुसार ‘वेस’ स्थापना गर्ने र संयुक्त गस्तीसमेत सञ्चालन गर्ने जनाएको छ।

नेपाली सेनाले निर्वाचन प्रयोजनका लागि करिब ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ। सेना तीन चरणमा निर्वाचन सुरक्षा जिम्मेवारीमा रहनेछ। निर्वाचनपूर्व मतपत्र छपाइ र ढुवानी, मतदानस्थल तथा मतपेटिका सुरक्षा र मतगणनास्थलसम्मको सुरक्षा व्यवस्था सेनाले सम्हाल्नेछ।

यसैगरी विमानस्थल, कारागारलगायत महत्त्वपूर्ण संरचनाको सुरक्षा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँगको समन्वयमा नेपाली सेनाले गर्नेछ। मतदानका दिन सेना तेस्रो सुरक्षा घेरामा रही राजनीतिक दल, उम्मेदवार, मतदाता र निर्वाचनमा खटिएका कर्मचारीको सुरक्षा सुनिश्चित गर्नेछ।

निर्वाचनमा कुल तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। निर्वाचन आयोगले माघ ४ गतेदेखि आचारसंहिता लागू गरिसकेको छ। यसपटक कूल १ करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम गरिएको छ, जसमा महिला ९२ लाख ४० हजार १३१, पुरुष ९६ लाख ६३ हजार ३५८ र अन्य २०० जना रहेका छन्।

निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र तोकिएको छ। नेपाल प्रहरीबाट ७७ हजार जनशक्ति परिचालन गरिनेछ भने थप एक लाख ३३ हजार ‘निर्वाचन प्रहरी’ भर्ना गरिएको छ।

सुरक्षा जोखिमका आधारमा मतदानस्थललाई वर्गीकरण गरिएको छ। दुई हजार ८४५ मतदानस्थललाई सामान्य, चार हजार ४४२ संवेदनशील र तीन हजार ६८० मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको छ।

सशस्त्र प्रहरी बल नेपालबाट ३४ हजार ५७६ नियमित जनशक्ति र १५ हजार ११० निर्वाचन प्रहरी गरी कुल ४९ हजार ६८६ जना परिचालन गरिनेछ। सशस्त्र प्रहरीले कुनै पनि अप्रिय घटना हुन नदिन उच्च सतर्कता अपनाइएको र आवश्यकता परे १० मिनेटभित्र घटनास्थलमा पुग्ने गरी परिचालन गरिएको जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय