spot_img

मौलापुरमा हस्तक्षेप नरोकिए नगरपालिका बन्द गर्ने मेयर रिना साहको चेतावनी

spot_img
spot_img

राैतहट,०५ जेठ । रिनाकुमारी साहले मौलापुर नगरपालिकामा भइरहेको गैरकानूनी हस्तक्षेप तत्काल बन्द नगरे नगरपालिका कार्यालयमा ताल्चा लगाउन बाध्य हुने चेतावनी दिएकी छन्।

मौलापुर नगरपालिकाकी मेयर साहले आइतबार प्रेस वक्तव्य जारी गर्दै प्रधानमन्त्री वालेन्द्र शाह समक्ष संविधान र कानुनअनुसार स्थानीय तह सञ्चालन गर्न आवश्यक वातावरण बनाउन आग्रह गरेकी हुन्।

वक्तव्यमा उनले नगरपालिकाले सञ्चालन गर्दै आएका ‘फ्री बिजुली, फ्री पानी’ तथा ‘छोरीसँग मेयर कार्यक्रम’ अन्तर्गतका योजनामा अवरोध सिर्जना गरिएको गुनासो गरेकी छन्। नगरसभाबाट पारित बजेटअनुसार नगरवासीका घरायसी तथा सिँचाइ प्रयोजनका विद्युत् महसुल र छोरीहरूको विवाह सहयोग रकम सुनिश्चित गरिएको भए पनि प्रशासनिक अवरोधका कारण कार्यान्वयन प्रभावित भएको उनको भनाइ छ।

मेयर साहले प्रमुख प्रशासकीय अधिकृतहरू नियमित रूपमा कार्यालयमा उपस्थित नभएको, बैंक खाता सञ्चालन प्रक्रिया अवरुद्ध गरिएको तथा भुक्तानी प्रक्रियामा अनावश्यक ढिलाइ गरिएको आरोपसमेत लगाएकी छन्।

उनले स्थानीय सरकारलाई सहजीकरण गर्नुको सट्टा कर्मचारीतन्त्रमार्फत हस्तक्षेप भइरहेको दाबी गर्दै निर्वाचित जनप्रतिनिधिको निर्णय कार्यान्वयनमा बाधा पुर्‍याइएको उल्लेख गरेकी छन्।

मेयर साहले नगरपालिकाको स्वायत्तता कमजोर पार्ने गतिविधि रोक्न सरकारलाई आग्रह गर्दै अवस्था नसुध्रिए नगरपालिका बन्द गर्न बाध्य हुने चेतावनी दोहोर्‍याएकी छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय