spot_img

शून्य समयको सुनुवाइ नभए बन्द गरियोस् : सांसद खरेल

spot_img
spot_img

काठमाडौँ,०५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेल ले प्रतिनिधिसभाको ‘शून्य समय’ केवल औपचारिकता र क्यामेरामा रेकर्ड गर्ने माध्यम मात्र बनेको भन्दै सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। उनले संसद्मा उठाइएका जनसरोकारका विषयमा सरकारले कुनै चासो नदिएको आरोप लगाउँदै सुनुवाइ नहुने हो भने शून्य समय नै बन्द गर्नुपर्ने चेतावनी दिएका हुन्।

प्रतिनिधिसभा बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी का सांसद खरेलले तामाकोसी आयोजनाको छानबिन, भेडपुका सुकुम्बासीको जग्गा समस्या लगायतका विषय आफूले पटक–पटक उठाए पनि सरकारले बेवास्ता गरेको बताए। वर्षायाम नजिकिँदै गर्दा पनि पीडितका समस्या समाधानतर्फ सरकार गम्भीर नदेखिएको उनको भनाइ थियो।

उनले संसद्मा उठाइएका विषय कार्यान्वयनका लागि कुनै प्रभावकारी संयन्त्र नै नदेखिएको टिप्पणी गर्दै भने, “यदि शून्य समय केवल क्यामेरामा रेकर्ड गर्नका लागि मात्रै हो भने यसको कुनै अर्थ छैन, बरु बन्द गरियोस्।”

सांसद खरेलले संसद्मा उठाइएका मुद्दाको कार्यान्वयन सुनिश्चित गर्न शक्तिशाली आयोग वा विशेष समिति गठन गर्न समेत माग गरेका छन्। उनका अनुसार जनप्रतिनिधिले उठाएका विषयलाई सरकारले गम्भीरतापूर्वक नलिए संसद्को गरिमा कमजोर हुँदै जानेछ।

यस क्रममा उनले हरि ढकाल ले यसअघि संसद्मा आफ्ना माग बेवास्ता गरिएको विरोधमा ‘मौन धारण’ गर्नुपरेको प्रसंग पनि स्मरण गरे। संसद्मा फेरि त्यस्तो अवस्था आउन नदिन सरकार समयमै जिम्मेवार बन्नुपर्ने उनको चेतावनी थियो। खरेलले जनसरोकारका मुद्दामा सरकार संवेदनशील र जवाफदेही बन्नुपर्नेमा जोड दिँदै संसद्लाई केवल औपचारिक बहसको थलो नभई समाधान खोज्ने प्रभावकारी मंच बनाउन आग्रह गरेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय