spot_img

नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ धकेलिँदै छ: सांसद अमरेशकुमार सिंह

spot_img
spot_img

काठमाडौँ,०७ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले वर्तमान सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँदै नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ उन्मुख भएको टिप्पणी गरेका छन् ।

हिमालयन टेलिभिजनमा बुधबार प्रसारित एक अन्तर्वार्ताका क्रममा सांसद सिंहले संसद्लाई छलेर अघि बढ्ने र विधिको शासनलाई बेवास्ता गर्ने प्रवृत्तिका कारण लोकतन्त्र जोखिममा परेको दाबी गरे । उनले नेपालमा ‘पुलिस स्टेट’ हाबी हुन खोजेको भन्दै पाकिस्तानमा जस्तै संसद्लाई कमजोर बनाउने खेल भइरहेको बताए ।

पछिल्लो समय व्यवसायीहरूलाई कानुनी प्रक्रिया र पर्याप्त आधारबिना पक्राउ गर्ने र भोलिपल्टै छोड्ने परिपाटीले अर्थतन्त्रमा नकारात्मक असर परेको सिंहको विश्लेषण छ । ‘जसरी विधिको शासन मिचेर व्यापारीहरूलाई थुन्ने काम भइरहेको छ, यसले लगानीकर्तामा डर पैदा गरेको छ,’ उनले भने, ‘यही कारण नेपालको अर्बौं रुपैयाँ विदेश पलायन भइसकेको छ ।’

नेपालको राजनीतिक इतिहासमा दुई तिहाइ र बहुमतका सरकारहरू सफल नभएको उदाहरण दिँदै उनले वर्तमान सरकार पनि पूर्ण कार्यकाल टिक्नेमा आशंका व्यक्त गरे । सत्ताको उन्मादले गर्दा संविधान र परम्पराको उल्लंघन भइरहेको उनको आरोप छ ।

त्यस्तै, छिमेकी मुलुकहरूसँगको सम्बन्धको चर्चा गर्दै सिंहले केपी शर्मा ओलीको पालामा भन्दा अहिले भारत र चीनसँगको भू–राजनीतिक सन्तुलन खलबलिएको दाबी गरे । उनले सरकार मधेसका समस्याप्रति असंवेदनशील बनेको र मधेसबाटै प्रतिनिधित्व गर्ने नेतृत्वले पनि सीमा क्षेत्रका पीडा बुझ्न नसकेको भन्दै आक्रोश पोखे ।

सुकुमवासी बस्ती हटाउने सरकारको कार्यशैलीको विरोध गर्दै उनले उचित विकल्पबिना संरचना भत्काउनु गलत भएको बताए । वर्तमान राजनीतिक अन्योल र संवैधानिक संकटका कारण आगामी स्थानीय तहको निर्वाचनसम्म यही संविधान रहला कि नरहला भन्नेमा समेत उनले गम्भीर आशंका व्यक्त गरेका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय