बीरगन्ज,०६ जेठ । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव ले अब नेकपा एमालेको पनि समर्थन पाउने भएका छन्। यससँगै उनले विश्वासको मत सहजै प्राप्त गर्ने सम्भावना बलियो बनेको छ।
यसअघि गत शुक्रबार विश्वासको मत लिने कार्यसूची तय भए पनि अन्तिम समयमा स्थगित गरिएको थियो। जनता समाजवादी पार्टी (जसपा) नेपालभित्र फ्लोर क्रस हुन सक्ने आशंकाका कारण मतदान सारिएको बताइएको थियो। अब विश्वासको मतका लागि जेठ ८ गते नयाँ मिति तोकिएको छ।
सुरुमा कांग्रेस, जसपा नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपाबीच मुख्यमन्त्री यादवलाई निरन्तरता दिने समझदारी बनेको थियो। तर जसपा र लोसपाको एकीकरणलाई निर्वाचन आयोगले मान्यता दिएपछि नयाँ समीकरण बनेको र एकीकृत जसपाले समर्थनबारे स्पष्ट धारणा नदिँदा सरकारको भविष्य अन्योलमा परेको थियो।
यही परिस्थितिमा केन्द्रमा कांग्रेस र एमालेबीच संवाद अघि बढेको स्रोतहरूको भनाइ छ। कांग्रेसका नेता गगन थापा र विश्वप्रकाश शर्मा ले फरक–फरक समयमा एमाले अध्यक्ष केपी शर्मा ओली सँग भेटवार्ता गर्दै सातै प्रदेशको सत्ता समीकरणबारे छलफल गरेका थिए।
उक्त छलफलपछि बनेको प्रारम्भिक सहमतिअनुसार मधेस प्रदेशमा एमालेले पनि मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने तयारी गरेको बताइएको छ। कांग्रेस निकट एक नेताका अनुसार एमालेको समर्थनपछि यादव नेतृत्वको सरकार टिक्ने लगभग निश्चित भएको छ।



