बीरगन्ज,०६ जेठ । औषधि व्यवस्था विभाग शाखा कार्यालय वीरगन्जले वैशाख महिनामा १६ फर्ममा सिलबन्दी र एक केमिकल उद्योगलाई जरिवाना गरेको छ ।
शाखा प्रमुख शम्भु साहका अनुसार वैशाख महिनाभरिमा कार्यालयका कर्मचारीले सर्लाही, महोत्तरी, धनुषा, सिन्धुली र पर्सा जिल्लामा उद्योग र पसलसमेत गरी ९५ फर्मको अनुगमन गरेका थिए । त्यस क्रममा २९ औषधि पसलसँग आवश्यक सूचनासमेत माग गरिएको उनले बताए । त्यसैगरी अनुगमनमा गएका बेला पसल बन्द गरेका व्यवसायीलाई हाजिर हुन सूचना टाँससमेत गरिएको छ ।
साथै बिनाइजाजत औषधि उत्पादन तथा बिक्री वितरण गर्ने दुई कम्पनीविरुद्ध औषधि व्यवस्था विभाग वीरगन्ज शाखा कार्यालयले मुद्दा दायर गरेको छ । यस क्रममा औषधिको अनुचित प्रयोग एवं बिक्री वितरण गर्ने एक व्यक्तिउपर पनि शाखाले मुद्दा दायर गरेको छ ।
शाखा प्रमुख साहका अनुसार शान्ति केमिकल एण्ड प्याकेजिङ इण्डष्ट्रिज वीरगन्ज–१५ भेडियाही, वेभ केमिकल इण्डष्ट्रिज वीरगन्ज–२४ रमगढवाउपर पर्सा जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । दुवै कम्पनीले बिनाइजाजत औषधि उत्पादन तथा बिक्री वितरण गरिरहेपछि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको हो ।
त्यसैगरी, चितवनको भरतपुर महानगरपालिका निवासी रोशन कुमालउपर व्यक्तिगत रूपमै मुद्दा दायर गरिएको छ । उनीउपर चितवन जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो । कुमालले औषधिको अनुचित प्रयोग एवं दुरुपयोग गरेको पाइएपछि उनीउपर यसरी मुद्दा दायर गरिएको साहले बताए ।



