spot_img

चलिरहेको पंखा कक्षाकोठामै खस्दा तीन विद्यार्थी घाइते

spot_img
spot_img

वीरगञ्ज, ७ जेठ – वीरगञ्ज महानगरपालिका–पिपरास्थित सिद्धार्थ माध्यमिक विद्यालयमा चलिरहेको पंखा कक्षाकोठामै खस्दा तीन जना विद्यार्थी घाइते भएका छन्।

बिहानी सिफ्ट चलिरहेको समयमा कक्षा ७ मा अध्ययनरत अमन पण्डित र आर्यन पटेल घाइते भएका हुन्। साथै, अर्का एक विद्यार्थीलाई पनि सामान्य चोट लागेको विद्यालयका प्रधानाध्यापक विनोद मेहताले जानकारी दिए। बिहान करिब ६:३९ बजे अचानक पंखा विद्यार्थीमाथि खस्दै डेस्कमा ठोक्किएको थियो। घटना लगत्तै कक्षामा केहीबेर भागदौड मच्चिएको थियो।

विद्यालय प्रशासनका अनुसार घटना हुँदा शिक्षक कक्षाकोठामै उपस्थित भएकाले घाइते विद्यार्थीहरूको तत्काल उद्धार गरी प्राथमिक उपचारपछि नारायणी अस्पतालमा लगिएको थियो।

पंखा अमन पण्डितको काँधमा खस्दा ब्लेडले उनको निधार र आँखामा चोट लागेको छ भने आर्यन पटेलको गाला र ओठमा चोट लागेको छ। अन्य एक विद्यार्थीलाई सामान्य चोट लागेको बताइएको छ।

घाइते विद्यार्थीहरूलाई मोटरसाइकलमार्फत तुरुन्त अस्पताल पुर्‍याइएको र उपचारपछि अभिभावकको जिम्मा लगाइएको विद्यालयले जनाएको छ। अमन पण्डितको आँखामा समेत चोट लागेकाले थप परीक्षण गरिएको छ।

हाल सबै घाइते विद्यार्थी खतरा मुक्त रहेको प्रधानाध्यापक मेहताले बताए।

गर्मी मौसम सुरु भएसँगै विद्यालयका सबै पंखाहरूको जाँच तथा वायरिङ ठीक पारिएको भए पनि पंखा पुरानो भएकाले दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ। घटनाबारे थप प्राविधिक जाँच गर्न मिस्त्री बोलाइने पनि उनले जानकारी दिए।

घटना लगत्तै विद्यालयका सबै कक्षाकोठाका पंखाहरू मजबुत रूपमा जडान गरिएको छ वा छैन भन्ने विषयमा पुनः जाँच भइरहेको विद्यालयले जनाएको छ। पंखा खसेको घटनासँगै वीरगंजको समुदायिक स्कुलहरुको पंखा तथा वायिरिङ्गको स्थिती ठिक छ कि छैन् बिषय चेकजाँच हुने पर्ने तथा यो बिषयमा वीरगंज महानगरपालिकालाई गम्भीर हुन अभिभावहरुको भनाई छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय