बीरगन्ज,१३ जेठ । कोलोरा महामारीप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखा को समन्वयमा बीरगन्जमा बिहीबार एकदिने कृत्रिम घटनामा आधारित आपतकालीन अभ्यास कार्यक्रम सञ्चालन हुने भएको छ ।
कार्यक्रमको तयारी तथा व्यवस्थापन सम्बन्धी छलफल बुधबार सम्पन्न भएको आयोजकले जनाएको छ । हालै विभिन्न क्षेत्रमा देखिएको कोलोरा संक्रमणको जोखिमलाई ध्यानमा राख्दै महामारीका बेला अपनाउनुपर्ने सावधानी, प्राथमिक उपचार, सरसफाइ तथा आपतकालीन व्यवस्थापनबारे समुदायमा सचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो ।
कार्यक्रमअन्तर्गत कृत्रिम घटनाको अभ्यासमार्फत महामारी फैलिएको अवस्थामा रेडक्रसकर्मी, स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरूले कसरी उद्धार, उपचार, समन्वय र जनचेतनामूलक गतिविधि सञ्चालन गर्ने भन्नेबारे व्यावहारिक प्रदर्शन गरिनेछ ।
छलफल कार्यक्रममा टिकाराज पौडेल को विशेष उपस्थिति रहेको थियो । उनले महामारी नियन्त्रणका लागि समुदायस्तरमै पूर्वतयारी र सचेतना आवश्यक रहेको उल्लेख गर्दै यस्ता अभ्यासमूलक कार्यक्रमले रेडक्रस तथा सरोकारवालाको भूमिका थप प्रभावकारी बनाउन मद्दत पुग्ने बताए ।
कार्यक्रममा रेडक्रसकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहने जनाइएको छ । आयोजकका अनुसार यस कार्यक्रमले महामारीका समयमा अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका उपायबारे समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ ।



