बीरगन्ज,१३ जेठ । सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोल ले साइबर अपराधविरुद्ध जनचेतना फैलाउने उद्देश्यले बीरगन्ज–१९ नगवास्थित सनलाइट स्कूल मा विशेष सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।
प्रहरी–सामुदायिक साझेदारी कार्यक्रमअन्तर्गत वडा प्रहरी कार्यालय बिर्ता को सहयोगमा आयोजित कार्यक्रममा विद्यालयका विद्यार्थीहरूलाई साइबर अपराधका जोखिम, त्यसबाट बच्ने उपाय तथा कानुनी पक्षबारे जानकारी दिइएको थियो ।
कार्यक्रम सामुदायिक प्रहरी कुम्हालटोलका सल्लाहकार मार्टिन मोक्तान को अध्यक्षता तथा वडा प्रहरी कार्यालय बिर्ताका सहायक प्रहरी निरीक्षक राम बिनेश कुमार यादव को प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
प्रमुख अतिथि तथा प्रशिक्षक सप्रनि यादवले साइबर ठगी, मानसिक यातना, ब्ल्याकमेल तथा अनलाइन दुव्र्यवहारजस्ता अपराधले व्यक्तिको मानसिक, सामाजिक र आर्थिक जीवनमा गम्भीर असर पार्ने बताए । उनले यस्ता घटनाबाट जोगिन विद्यार्थी मात्र नभई परिवार र समाजसमेत सचेत हुन आवश्यक रहेको उल्लेख गरे ।
कार्यक्रममा वृत्तचित्र, तस्वीर तथा सन्देशमूलक प्रस्तुतिमार्फत साइबर अपराधका विभिन्न स्वरूप र त्यससँग सम्बन्धित कानुनी सजायबारे जानकारी गराइएको थियो । सहभागी विद्यार्थीहरूले राखेका जिज्ञासाको समेत प्रशिक्षकहरूले जवाफ दिएका थिए ।
कार्यक्रमका अध्यक्ष मोक्तानले साइबर अपराधले लोभ र प्रलोभनमार्फत मानिसलाई आफ्नो जालमा फसाउने भएकाले डिजिटल दुनियाँमा सचेत रहनुपर्ने बताए । उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रहरी, विद्यालय परिवार तथा सहभागीहरूलाई धन्यवादसमेत व्यक्त गरे ।
विद्यालयका कोर्डिनेटर रंगराजन चौरसिया ले विद्यार्थीलाई साइबर अपराधजस्तो संवेदनशील विषयमा जानकारी दिनु समयको आवश्यकता भएको उल्लेख गर्दै आयोजकप्रति आभार व्यक्त गरे ।
कार्यक्रमअन्तर्गत साइबर अपराध विषयक संक्षिप्त प्रतियोगिता पनि आयोजना गरिएको थियो । प्रतियोगितामा ११ जना विद्यार्थी सहभागी भएका थिए भने विद्यार्थी कृष्ण कुशवाहा प्रथम भएका थिए । विजेतालाई प्रमुख अतिथि यादवले खादा तथा मायाको चिनो प्रदान गरी सम्मान गरेका थिए ।



