वीरगन्ज,०७ जेठ । वीरगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको एउटा ईभी गाडी मकवानपुरमा दुर्घटनामा पर्दा चालकसहित आठ जना घाइते भएका छन्। बुधबार मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरीखेत क्षेत्रमा बा प्र ०३–००१ ज १३७१ नम्बरको ईभी गाडी अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
दुर्घटनामा गाडी चालक हेटौँडा उपमहानगरपालिका–१ लालझाडी निवासी ३१ वर्षीय पूर्णबहादुर रुम्बासहित यात्रुहरू घाइते भएका छन्। घाइतेमध्ये तनहुँ बन्दीपुर नगरपालिका–९ का ३८ वर्षीय मनोज गुरुङ र उनकी श्रीमती २८ वर्षीया उषा गुरुङ रहेका छन्।
त्यसैगरी धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिका–४ निवासी ४१ वर्षीय विकास झा तथा भारतको बिहार राज्य सितामढीका ३४ वर्षीय सोनु रौनियार र उनकी श्रीमती २७ वर्षीया संगता रौनियार पनि घाइते भएका छन्।
प्रहरीका अनुसार सबै घाइतेलाई उपचारका लागि काठमाडौँ पठाइएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




