spot_img

महिला अधिकार कार्यान्वयनमा सरकार प्रतिबद्ध: प्रधानमन्त्री शाह

spot_img
spot_img

बीरगन्ज,१६ जेठ । प्रधानमन्त्री बालेन्द्र शाह ले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यवहारमै कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

आठौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा जारी शुभकामना सन्देशमा उनले नेपालको संविधानले महिलाको हकलाई मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै राज्यका सबै तहमा समानुपातिक तथा समावेशी प्रतिनिधित्वको व्यवस्था गरिएको बताएका छन्।

प्रधानमन्त्री शाहले बालविवाह, बोक्सी प्रथा, छाउपडी, दाइजो र तिलकजस्ता कुप्रथा तथा लैङ्गिक, घरेलु र डिजिटल हिंसाको अन्त्यका लागि कानुनी व्यवस्था मात्र पर्याप्त नभई सामाजिक चेतना अभिवृद्धि पनि आवश्यक रहेकोमा जोड दिएका छन्। महिला अधिकारको संरक्षण र प्रवर्द्धनका लागि राज्य, समुदाय र सरोकारवाला पक्षबीच सहकार्य अपरिहार्य रहेको उनको भनाइ छ।

उनले आर्थिक, सामाजिक र शैक्षिक रूपमा पछाडि परेका महिलाको सशक्तीकरणमार्फत आत्मनिर्भर समाज निर्माण गर्नुपर्ने उल्लेख गर्दै महिलामाथि हुने सबै प्रकारका हिंसा, शोषण र भेदभाव अन्त्य गर्न सरकार दृढ रहेको बताएका छन्।

यसै अवसरमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादी ले महिला अधिकारको कार्यान्वयनका लागि राज्य, समुदाय र नागरिक समाजबीच समन्वय आवश्यक रहेको बताएकी छन्। उनले महिला अधिकारलाई कानुनी व्यवस्था वा नीतिगत घोषणामा सीमित नराखी व्यवहारमा उतार्न सबै पक्षको सक्रियता आवश्यक रहेको धारणा राखेकी छन्।

यस वर्ष राष्ट्रिय महिला अधिकार दिवस ‘महिला अधिकारको सम्मानः आत्मनिर्भरता र समृद्धिको अभियान’ नाराका साथ देशभर मनाइँदैछ।

spot_img

ताजा अपडेट

लोकप्रिय