काठमाडौं,१६ जेठ । भारतको उत्तर प्रदेशस्थित कुशीनगरबाट उद्धार गरिएका ४५३ जना नेपालीलाई बेलहिया नाका हुँदै स्वदेश फर्काइएको छ।
भारतीय प्रहरीको सहयोगमा लुम्बिनी प्रदेश प्रहरी तथा जिल्ला प्रहरी कार्यालय रूपन्देहीको टोलीले कुशीनगर पुगेर उनीहरूको उद्धार गरेको हो। उद्धार गरिएकाहरूलाई भारतको सुनौली हुँदै बेलहिया नाकाबाट भैरहवा ल्याइएको प्रहरीले जनाएको छ।
रूपन्देहीका प्रहरी प्रमुख (एसपी) जनकबहादुर शाहीका अनुसार भारतीय राजदूतावासको समन्वय तथा नेपाल प्रहरीका एसएसपी प्रकाश मल्लको नेतृत्वमा खटिएको टोलीले उद्धार कार्य सम्पन्न गरेको हो।
उद्धार गरिएका सबैलाई हाल जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा राखिएको छ। आठवटा भारतीय बसमार्फत नेपाल ल्याइएका उनीहरूको विवरण सङ्कलन तथा स्क्रिनिङ प्रक्रिया सुरु गरिएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार उद्धार गरिएकामध्ये करिब आधा महिला रहेका छन्। केही व्यक्ति अलपत्र परेका, केही हराएका तथा केहीलाई विभिन्न प्रलोभनमा पारेर भारत पुर्याई बन्दक बनाइएको हुन सक्ने आशंका प्रहरीले गरेको छ।
प्रहरीका अनुसार आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेपछि उनीहरूलाई परिवारको जिम्मा लगाई घर पठाइनेछ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।




