काठमाडौँ,११ जेठ । नेपाली कांग्रेस भित्र देखिएको आन्तरिक विवाद समाधान गर्दै शेखर कोइरालाले पार्टी एकता कायम राख्न पाँच बुँदे प्रस्ताव अघि सारेका छन्। विशेष महाधिवेशनपछि पार्टीभित्र बढ्दै गएको मतभेदबीच कोइरालाले आफूलाई भेट्न आएका गगन थापा, प्रदीप पौडेल लगायत नेताहरूसँग छलफलका क्रममा यी प्रस्ताव प्रस्तुत गरेका हुन्।
कोइरालाले पार्टीमा पद र हैसियतभन्दा पनि एकतालाई प्राथमिकता दिनुपर्ने धारणा राख्दै आफूलाई ‘वरिष्ठ नेता’ पद आवश्यक नरहेको स्पष्ट पारेका छन्। उनका अनुसार पार्टी बलियो बनाउन सहमति र सहकार्य आवश्यक छ, त्यसका लागि केही व्यावहारिक उपायहरू नेतृत्वसमक्ष राखिएको हो।
उनलाई भेट्न प्रदीप पौडेल चैत २२ गते र गगन थापा वैशाख २३ गते विशालनगरस्थित सम्पर्क कार्यालय पुगेका थिए। ती भेटघाट तथा त्यसपछिका अनौपचारिक छलफलहरूमा कोइरालाले पार्टी एकता सुदृढ बनाउन प्रस्तावहरू अघि सारेका उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिएका छन्।
कोइरालाका ५ प्रस्ताव
१. १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता अद्यावधिकलाई अनिवार्य नगर्ने।
२. १४औँ महाधिवेशनपछि नवीकरण तथा वितरण गरिएका सदस्यताकै आधारमा १५औँ महाधिवेशन सम्पन्न गर्ने।
३. १४औँ महाधिवेशन र विशेष महाधिवेशनबाट बनेका केन्द्रीय कार्यसमितिलाई समायोजन गरी एउटै संरचना बनाउने।
४. कार्यसम्पादन समिति सभापतिको बहुमत हुने गरी गठन गर्ने।
५. निर्वाचन, सदस्यता छानबिन, अनुशासन, विधानलगायत समितिहरू सहमतिका आधारमा गठन गर्ने।
कोइरालाका यी प्रस्तावलाई कांग्रेसभित्रको जारी विवाद समाधान र संगठनात्मक एकता कायम गर्ने प्रयासका रूपमा हेरिएको छ।



