बीरगन्ज,११ जेठ । बीरगन्जको आदर्शनगरस्थित ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र परिसरमा धार्मिक तथा सांस्कृतिक महत्व बोकेको दुर्लभ ‘कल्प वृक्ष’ रोपण गरिएको छ ।
ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा आयोजित कार्यक्रममा केन्द्रका पदाधिकारी, समाजसेवी तथाहरि खेतान कलेजका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा वक्ताहरूले ‘कल्प वृक्ष’लाई धार्मिक, सांस्कृतिक र आध्यात्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण तथा दुर्लभ वृक्षको रूपमा व्याख्या गरेका थिए । नेपालमा सहज रूपमा नपाइने उक्त वृक्ष विशेष पहलमार्फत भारतबाट ल्याइएको जानकारी समेत दिइएको थियो ।
हिन्दु धार्मिक मान्यताअनुसार कल्प वृक्षलाई इच्छापूर्ति गर्ने प्रतीकका रूपमा लिने गरिन्छ । यस्तो वृक्ष रोपिएको स्थानमा सकारात्मक ऊर्जा फैलिने र वातावरणमा शुभ प्रभाव पर्ने विश्वास रहिआएको छ ।
आयोजकका अनुसार समाजमा सकारात्मक सोचको विकास, वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले वृक्षारोपण कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा सामुदायिक प्रहरीका पदाधिकारीहरूले वातावरण जोगाउन वृक्षारोपण अपरिहार्य रहेको उल्लेख गर्दै युवापुस्तालाई हरियाली संरक्षण अभियानमा सक्रिय रूपमा जोडिन आग्रह गरेका थिए ।
त्यसैगरी, हरि खेतान कलेजका विद्यार्थीहरूले वृक्षारोपणले वातावरणीय सन्तुलन कायम राख्न महत्वपूर्ण योगदान पुर्याउने धारणा व्यक्त गरेका थिए । कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको जनाइएको छ ।



