बीरगन्ज,१३ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्ला सभापति चन्दन स्वर्णकारलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेसँगै जिल्लामा आन्तरिक विवाद तीव्र बनेको छ। तर स्वर्णकारले भने आफू पार्टी नछोड्ने र अन्तिमसम्म संघर्ष जारी राख्ने बताएका छन्।
२०७९ भदौ २९ देखि जिल्ला सभापतिको जिम्मेवारी सम्हालेका स्वर्णकारले पार्टीभित्रको विवाद, टिकट वितरण प्रक्रिया र नेतृत्वको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। उनका अनुसार टिकट वितरणमा पारदर्शिता नभएको र ‘टिकट बेचबिखन’ भएको आरोपबाटै विवाद सुरु भएको हो।
स्वर्णकारले रवि लामिछाने लगायत शीर्ष नेतृत्वसँगको सुरुवाती सहकार्य स्मरण गर्दै आफूले जिल्लामा पार्टी संगठन विस्तारमा महत्वपूर्ण भूमिका खेलेको दाबी गरेका छन्। २०७९ को निर्वाचनमा बाराका चारमध्ये तीन क्षेत्रमा उम्मेदवार उठाइएको र राम्रो मत प्राप्त भएको उनको भनाइ छ।
तर पछि बारा–२ उपनिर्वाचनका क्रममा उम्मेदवार छनोटमा विवाद उत्पन्न भएको र केन्द्रले संस्थापक कार्यकर्तासँग समन्वय नगरी निर्णय लिएको आरोप उनले लगाए। उनले आवेदन शुल्क लिएका उम्मेदवारहरूको रकम फिर्ता गर्नुपर्ने मागसमेत अघि सारेका छन्।
स्वर्णकारका अनुसार बाराका चारै जना संघीय सांसदहरूले आफूविरुद्ध योजनाबद्ध रूपमा उजुरी दिएका हुन्। उनले सांसदहरूले संगठन कब्जा गर्न आर्थिक चलखेल, टिकट बिक्री र कार्यकर्तामाथि दबाब दिने काम गरेको आरोप पनि लगाए।
जेठ १० गते आयोजित जिल्ला विस्तारित बैठकमा उत्पन्न झडपका कारण सांसदहरू कार्यक्रम स्थलबाट लखेटिएको घटना पनि यही विवादको परिणाम भएको बताइएको छ। स्वर्णकारका समर्थकहरूका अनुसार बाहिरी व्यक्तिहरू ल्याएर कार्यक्रम प्रभावित पार्न खोजिएको थियो।
आगामी दिनमा निष्पक्ष अधिवेशनको माग गर्दै स्वर्णकार पक्षले ‘राइट टु रिकॉल’ अभियान चलाउने तयारी गरेको छ। आवश्यक परे समानान्तर समिति गठन गर्ने चेतावनीसमेत उनीहरूले दिएका छन्।
यसैबीच, स्वर्णकारले निर्वाचित सांसदहरूले जनताको मुद्दा उठाउन नसकेको आरोप लगाउँदै सामाजिक सञ्जालमा मात्रै सीमित भएको टिप्पणी गरे।
सरकारको कामबारे बोल्दै उनले बालेन शाह नेतृत्वको सरकारको कार्यशैली सकारात्मक रहेको उल्लेख गरे पनि सहकारी पीडितलाई राज्यकोषबाट राहत दिने विषयमा असहमति जनाएका छन्। रास्वपा बारा विवादले अब पार्टीको आन्तरिक लोकतन्त्र, नेतृत्वको पारदर्शिता र संगठनात्मक संरचनामाथि गम्भीर प्रश्न उठाएको देखिन्छ।



