चितवन,१३ जेठ । देशकै प्रमुख क्यान्सर उपचार केन्द्र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल मा अत्यावश्यक केमोथेरापी औषधिको गम्भीर अभाव भएपछि बिरामीको उपचार प्रभावित भएको छ। अस्पताल प्रशासनले विश्वव्यापी कच्चा पदार्थ (एपिआई) आपूर्ति प्रणाली प्रभावित भएकाले संकट चुलिएको जनाएको छ।
अस्पतालका मेडिकल अंकोलोजी विभाग प्रमुख डा. गुरुशरण साहका अनुसार क्यान्सर उपचारमा अत्यन्त महत्वपूर्ण मानिने ‘कार्बोप्लाटिन’ र ‘सिसप्लाटिन’ जस्ता औषधि हाल उपलब्ध छैनन्। यी औषधि केमोथेरापीको मुख्य आधार मानिने भएकाले विकल्प प्रयोग गर्दा उपचारको प्रभावकारिता घट्ने जोखिम बढेको चिकित्सकहरूको भनाइ छ।
अस्पतालमा दैनिक करिब २०० जना बिरामीले डे–केयर तथा वार्डमार्फत केमोथेरापी सेवा लिने गरेका छन्। तर औषधि अभावका कारण चिकित्सकहरू बाध्य भएर वैकल्पिक उपचार पद्धति अपनाइरहेका छन्, जसले दीर्घकालीन रूपमा बिरामीको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने चेतावनी दिइएको छ।
औषधि संकटसँगै बजारमा अवैध रूपमा आयात गरिएका तथा गुणस्तर परीक्षण नभएका औषधिको कारोबारसमेत बढ्न थालेको छ। कतिपय बिरामीले छिमेकी मुलुकबाट भन्सार छलेर ल्याइएका औषधि प्रयोग गर्न थालेपछि स्वास्थ्य जोखिम झन् बढेको अस्पतालले जनाएको छ।
डा। साहका अनुसार क्यान्सरका अधिकांश औषधि २५ डिग्री सेल्सियसभन्दा कम तापक्रममा सुरक्षित राख्नुपर्छ। तर अत्यधिक गर्मी हुने क्षेत्रमा सामान्य झोलामा बोकेर ल्याइएका औषधिको गुणस्तर कमजोर हुने र त्यसले बिरामीलाई फाइदाभन्दा बढी हानि पुर्याउन सक्ने खतरा रहेको उनले बताए।
यसैबीच, केही निजी औषधि पसलहरूले अभाव भएका औषधि उपलब्ध गराउने नाममा अन्य सबै औषधि पनि आफ्नै पसलबाट किन्नुपर्ने सर्त राखेको गुनासो बिरामी पक्षले गरेका छन्। यसले उपचार खर्च थप महँगो र कठिन बन्दै गएको छ।
अस्पतालका निवर्तमान कार्यकारी निर्देशक डा.शिवजी पौडेलका अनुसार कार्बोप्लाटिन र सिसप्लाटिनको आपूर्ति करिब ६ महिनाअघि नै रोकिएको थियो। मौज्दात रहेको स्टक क्रमशः सकिँदै जाँदा जेठ २ गतेदेखि कार्बोप्लाटिन पूर्ण रूपमा सकिएको उनले जानकारी दिए।
हालै भने एक बङ्गलादेशी कम्पनीमार्फत केही परिमाणमा औषधि आयात प्रक्रिया अघि बढेकाले निकट भविष्यमा केही राहत मिल्ने अपेक्षा गरिएको अस्पताल प्रशासनले जनाएको छ।
बालबालिकाका लागि छुट्याइएको औषधि प्रयोग गर्ने तयारी
अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उमेश नेपालका अनुसार संकट समाधानका लागि स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठन सँग समन्वय भइरहेको छ।
हाल बालबालिकाका लागि निःशुल्क उपचारमा प्रयोग हुने कार्बोप्लाटिन र सिसप्लाटिन केही मात्रामा मौज्दात रहेकाले त्यसलाई वयस्क बिरामीमा समेत प्रयोग गर्न अनुमति मागिएको उनले बताए। उक्त औषधिको म्याद सेप्टेम्बर–अक्टोबर २०२६ सम्म मात्रै भएकाले समयमै अनुमति पाए केही समयका लागि उपचार सेवा सहज हुने अस्पतालको अपेक्षा छ।



