काठमाडौं,१३ जेठ । प्रतिनिधि सभा सदस्य महावीर पुनले मुलुकको आर्थिक समृद्धिका लागि विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा पुँजीगत बजेटको कम्तीमा एक प्रतिशत रकम विनियोजन गर्नुपर्ने माग गरेका छन् ।
संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद पुनले देशमा रोजगारी सिर्जना र अर्थतन्त्र सुदृढ गर्न अनुसन्धान र नवप्रवर्तन अपरिहार्य रहेको उल्लेख गरे ।
सरकारले हालै ‘नवप्रवर्तन तथा विज्ञान प्रविधि मन्त्रालय’ स्थापना गरेको विषयलाई सकारात्मक रूपमा लिँदै उनले उक्त मन्त्रालयलाई प्रभावकारी बनाउन दक्ष जनशक्ति र पर्याप्त बजेटको आवश्यकता रहेको औंल्याए ।
सांसद पुनले वर्तमान अर्थतन्त्रको विकासका लागि नवप्रवर्तनको महत्व बुझ्न जरुरी रहेको बताउँदै वैज्ञानिकहरूले गर्ने आविष्कारलाई व्यवसायिक रूप दिई उत्पादन बढाउनु नै नवप्रवर्तन भएको स्पष्ट पारे ।
नवप्रवर्तनका माध्यमबाट स्वदेशमै वस्तुहरू उत्पादन गर्दा आयात प्रतिस्थापन हुने, रोजगारी बढ्ने र अन्तत: राज्यको कर संकलनमा वृद्धि भई विकास निर्माणका काममा बजेट जुटाउन सहज हुने उनको तर्क छ ।
उनले नयाँ मन्त्रालयमा मन्त्रीदेखि सचिवसम्म सम्बन्धित क्षेत्रका विज्ञ हुनुपर्ने र यसको नेतृत्व प्रधानमन्त्री स्वयंले चासोका साथ लिनुपर्ने सुझाव समेत दिए ।
‘मन्त्रालय त खोलियो, तर यसलाई व्यवस्थित गर्न बाँकी छ । आगामी बजेटमा पुँजीगत खर्चको एक प्रतिशत अर्थात् करिब ३ अर्ब रुपैयाँ यस क्षेत्रका लागि छुट्याउनुपर्छ । हाम्रा अर्थमन्त्रीजी एक कुशल अर्थशास्त्री हुनुहुन्छ, तर देशको अर्थतन्त्र उकास्न विज्ञान र नवप्रवर्तनले कस्तो भूमिका खेल्छ भन्ने विषयमा उहाँको गहिरो ध्यान पुग्न सकेको छैन कि भन्ने मलाई भान भएको छ,’ उनले भने ।



