काठमाडौँ,१६ जेठ । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले संविधानमार्फत प्राप्त उपलब्धिहरूको संरक्षण, संस्थागत विकास र लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि नेपाली काँग्रेसलाई अझ बलियो र संगठित बनाउनुपर्ने बताएका छन्।
एक कार्यक्रममा सम्बोधन गर्दै पौडेलले मुलुकमा पुनः एकात्मक राज्य प्रणालीको बहस उठ्न थालेको तथा संसदीय व्यवस्थालाई कमजोर बनाउने प्रयास भइरहेको दाबी गर्दै संविधानको रक्षा र प्रभावकारी कार्यान्वयनका लागि सबै लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याए।
उनले वर्तमान संविधानले सुनिश्चित गरेका समावेशिता, संघीयता, लोकतन्त्र र नागरिक अधिकारजस्ता उपलब्धिहरूलाई जोगाउन नसके मुलुक पुनः पछाडि फर्किने जोखिम रहेको बताए। संविधान कार्यान्वयनमा विगतमा राजनीतिक नेतृत्वबाट अपेक्षाअनुसार काम हुन नसकेको स्वीकार गर्दै उनले अहिले भने संविधानको मर्ममात्र होइन, संविधानकै अस्तित्वमाथि चुनौती सिर्जना गर्ने गतिविधिहरू देखिन थालेको टिप्पणी गरे।
महामन्त्री पौडेलले नेपाली काँग्रेसलाई समावेशी लोकतन्त्र, विविधताको सम्मान र सबै समुदायको अस्तित्व स्वीकार गर्ने राजनीतिक शक्तिका रूपमा प्रस्तुत गर्दै संविधान निर्माणमा काँग्रेसले खेलेको भूमिकाको स्मरण गरे। लोकतान्त्रिक मूल्य, संस्कृति र मौलिकताको संरक्षणका लागि काँग्रेसको भूमिका अझ सशक्त हुनुपर्ने उनको भनाइ थियो।
उनले लोकतन्त्रभित्र सबै समुदाय, भाषा, संस्कृति र पहिचानलाई सम्मान गर्दै अघि बढ्न सक्ने राजनीतिक शक्तिको आवश्यकता औँल्याउँदै त्यसका लागि काँग्रेसलाई थप मजबुत बनाउनुपर्ने बताए। पार्टीलाई जनस्तरसम्म प्रभावकारी बनाउन र आगामी चुनौती सामना गर्न सबै समुदाय तथा वर्गलाई काँग्रेससँग जोड्नुपर्नेमा उनले विशेष जोड दिए।
पौडेलले संविधानका उपलब्धिहरूलाई व्यवहारमा कार्यान्वयन गर्दै लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ बनाउनु वर्तमान राजनीतिक नेतृत्वको साझा जिम्मेवारी भएको उल्लेख गरे। साथै, लोकतन्त्र, समावेशिता र संवैधानिक व्यवस्थाको रक्षाका लागि राजनीतिक दलहरूबीच सहकार्य र प्रतिबद्धता आवश्यक रहेको धारणा व्यक्त गरे।



