काठमाडौं,०५ फागुन । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा सोमबार भएका छुट्टाछुट्टै बम विस्फोट र गोलीबारीका घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।
समाचार एजेन्सी एएफपीका अनुसार मारिनेहरूमध्ये ११ जना सुरक्षाकर्मी र तीन जना सर्वसाधारण नागरिक रहेका छन्।
पहिलो घटना बाजौर जिल्लामा भएको थियो, जहाँ एक आत्मघाती हमलाकारीले विस्फोटकले भरिएको सवारीसाधन धार्मिक कलेजको पर्खालमा ठोक्काएका थिए। उक्त विस्फोटमा आठ सुरक्षाकर्मीको मृत्यु हुनुका साथै १० जना घाइते भएका छन्।
दोस्रो विस्फोट बन्नु शहरमा भएको थियो। त्यहाँ एउटा रिक्सामा जडान गरिएको बम मिर्यान प्रहरी चौकी नजिक विस्फोट हुँदा दुई सर्वसाधारणको ज्यान गएको र १७ जना घाइते भएको जनाइएको छ।
यसैबीच शांगला जिल्लामा सुरक्षाकर्मीले सञ्चालन गरेको खानतलासी अभियानका क्रममा भएको गोलीबारीमा तीन सुरक्षाकर्मी र तीन विद्रोही मारिएका छन्।
अफगानिस्तानसँग सीमा जोडिएको दक्षिणी तथा उत्तरी क्षेत्रमा पछिल्लो समय बढ्दो विद्रोह र असुरक्षा चुनौतीका बीच यी घटनाहरू भएका हुन्। पाकिस्तानका सुरक्षा बलहरूले सीमावर्ती क्षेत्रमा सुरक्षा सतर्कता बढाएको बताएका छन्।

