काठमाडौं,१७ जेठ । प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौँ महानगरपालिका-२६ गोँगबु मित्रनगरबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ छ ग्राम ४४० मिलिग्राम र डिजिटल तराजु एक थानसहित दुई जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४६ वर्षीय अर्जुनबहादुर भुजेल र सोही महानगरपालिका-२६ लैनचौर घर भएका २७ वर्षीय सञ्जय गुरूङ रहेका छन् । प्रहरी प्रभाग गोँगबुबाट खटिएको प्रहरीले अर्जुनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी निजहरूलाई पक्राउ गरेको हो ।
काठमाडौँ महानगरपालिका-६ रामहिटीबाट नियन्त्रित लागूऔषध डाइजेपाम १४० एम्पुल, बुप्रेनोर्फिन १०९ एम्पुल, फेनारगन १३४ एम्पुल र नगद रु १७ हजार ७०० सहित कागेश्वरी मनोहरा नगरपालिका-५ थली बस्ने सिन्धुली घर भएका २९ वर्षीय सुजन लामालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले बा प्र ०२-०२८ प ४४७७ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । त्यसैगरी दाङ, पर्सा, कैलाली, कञ्चनपुर, सुनसरी र बाँके जिल्लाबाट प्रहरीले पक्राउ गरेको छ । त्यसैगरी प्रहरीले आज इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति पक्राउ गरेको छ ।



