काठमाडौँ,१७ जेठ । एकघण्टा ढिला गरी सुरु भएकाे राष्ट्रियसभा बैठक २० मिनेटको लागि स्थगित भएकाे छ । आगामी आर्थिक वर्षका लागि शुक्रबार दुवै सदनको संयुक्त बैठकमा बजेट पेस भएपछि आज संसद्को बैठक बसेको थियाे ।
राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री एवम् गृहमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।
यसैगरी प्रधानमन्त्री शाहले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यतालिका तय भएको छ ।
उनले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।
आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।



