बीरगन्ज, १९ जेठ । वीरगन्जको मुख्य सडक (मेनरोड) विस्तारका क्रममा भइरहेको संरचना हटाउने कार्य रोक्न माग गर्दै प्रभावित घरजग्गाधनी तथा स्थानीयवासीले मंगलबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्।
प्रदर्शनकारीहरूले विकासका नाममा नागरिकलाई विस्थापित गर्ने काम स्वीकार्य नहुने भन्दै सडक विस्तारका क्रममा भइरहेको डोजर प्रयोग तत्काल बन्द गर्न माग गरेका छन्। उनीहरूले वीरगन्जको मेनरोडलाई शहरी मार्गका रूपमा कायम राख्नुपर्ने आवाज पनि उठाएका छन्।
विरोध कार्यक्रममा सहभागीहरूले “वीरगन्जबासीलाई न्याय देऊ”, “डोजर आतंक बन्द गर” लगायतका नाराबाजी गरेका थिए। प्रदर्शनकारीहरूको भनाइमा दशकौँदेखि कानुनी प्रक्रिया पूरा गरी निर्माण गरिएका घर तथा व्यवसायिक संरचना भत्काइँदा हजारौँ परिवारको बसोबास र जीविकोपार्जन संकटमा पर्ने अवस्था सिर्जना भएको छ।
वीरगन्ज बचाऔं संघर्ष समितिका संयोजक कुन्दन रौनियार ले प्रभावित पक्षलाई उचित मुआब्जा उपलब्ध गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको भए पनि लामो समयदेखि सुनुवाइ नभएको गुनासो गरे। उनले स्थानीयवासीको अधिकार र हितलाई ध्यानमा राख्दै मेनरोड विस्तार सम्बन्धी निर्णय पुनर्विचार गर्नुपर्ने बताए।
प्रदर्शनकारीहरूले सरकारले सडक विस्तारअघि प्रभावित नागरिकको उचित व्यवस्थापन, क्षतिपूर्ति र कानुनी समाधान सुनिश्चित गर्नुपर्ने माग गरेका छन्।