काठमाडौँ,१९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागमती र मधेस प्रदेशका विभिन्न स्थानीय तह र वडाहरूमा हुन लागेका पार्टीका निर्वाचन प्रक्रियाहरू तत्कालका लागि स्थगित गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगको मङ्गलबार बसेको बैठकले विवाद उत्पन्न भई उजुरीहरू प्राप्त भएकाले छानबिनका लागि निर्वाचन हाललाई स्थगित गरिएको हो ।
आयोगका प्रमुख भुवन केसीद्वारा जारी गरेको पत्रअनुसार बागमती प्रदेश अन्तर्गत सिन्धुपाल्चोक जिल्लाका चौतारा साँगाचोकगढी नगरपालिका र जिल्ला अन्तर्गतका अन्य विवादित स्थानीय तह तथा वडाहरू छन् ।
मधेस प्रदेशमा सप्तरी र सिराहा जिल्लाका विवादित स्थानीय तह र वडाहरू छन् । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका, एकडारा गाउँपालिका, मतिहानी नगरपालिका, मनरा शिसवा नगरपालिका, पिपरा गाउँपालिका र अन्य विवादित क्षेत्रहरू छन् ।
धनुषा जिल्लाका जनकपुर उपमहानगरपालिका, जनकनन्दिनी गाउँपालिका, गणेशमान चारनाथ नगरपालिका लगायतका विवादित क्षेत्रहरू रहेका छन् । सर्लाही जिल्लाका हरिपूर्वा नगरपालिकामा स्थगित भएको छ ।
यी स्थानीय तहमा विवाद सुल्झिएपछि मात्र प्रक्रिया अघि बढ्ने भएकाले आयोगले यी क्षेत्रहरूमा निर्वाचनसम्बन्धी कुनै पनि नयाँ प्रक्रिया अगाडि नबढाउन निर्देशन दिएको छ ।निर्देशन विपरीत कुनै गतिविधि गरिएमा त्यसले आधिकारिक मान्यता नपाउने चेतावनी समेत दिइएको छ ।
पार्टीभित्रको निर्वाचनलाई लोकतान्त्रिक, निष्पक्ष र मर्यादित बनाउनका लागि छानबिन नसकिएसम्मका लागि यो कदम चालिएको आयोगका प्रमुख के.सी. ले जानकारी दिए । अन्य क्षेत्रमा भने निर्वाचन प्रक्रिया पूर्ववत् रूपमै सञ्चालन हुने पत्रमा उल्लेख छ।




