काठमाडौं,१९ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूलाई लक्षित गर्दै आफ्नै नेताको बचाउका लागि नेपालले भारतको भूमि मिचेको प्रमाण खोज्दै हिँडिरहेको आरोप लगाएकी छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले हिजोसम्म एक इन्च भूमि पनि नछाड्ने भनाइ राख्नेहरू आज आफ्नै नेताको अभिव्यक्ति बचाउन प्रमाण खोज्ने अवस्थामा पुगेको टिप्पणी गरिन्।
उनका अनुसार प्रधानमन्त्रीको अभिव्यक्ति व्यक्तिगत नभई राज्यको सर्वोच्च पदबाट आएको भएकाले यसलाई गम्भीर रूपमा लिनुपर्ने विषय हो। “प्रधानमन्त्री व्यक्ति होइन, संस्था हो। राज्यको सर्वोच्च संस्थाबाट आएको फितलो भाष्यले राष्ट्रिय संकट निम्त्याउन सक्छ,” ओलीले भनिन्।
उनले सीमा, सार्वभौमिकता र राष्ट्रिय स्वाभिमान जस्ता विषयमा नेताको अभिव्यक्ति बचाउन राष्ट्रकै दाबी कमजोर पार्ने गतिविधि गर्न नहुनेमा जोड दिइन्।
यसैबीच नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले प्रधानमन्त्रीको अभिव्यक्तिबारे रास्वपाले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने माग गरेका छन्। उनले उक्त भनाइ संसदको रेकर्डबाट हटाई प्रधानमन्त्रीले पुनः स्पष्टिकरण दिनुपर्ने पनि बताएका छन्।




