बीरगन्ज,१९ जेठ । स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालहरूलाई आकस्मिक प्रकृतिका बिरामीको उपचारमा मात्र स्वास्थ्य बीमा सुविधा लागू गर्न निर्देशन दिएको छ। अन्यथा बीमा अन्तर्गतको भुक्तानी नदिइने बोर्डले स्पष्ट पारेको छ।
जेठ १८ गते जारी सूचनामा सामान्य बिरामीलाई आकस्मिक सेवा अन्तर्गत उपचार गरी दाबी पेश गरेमा भुक्तानी नदिइने उल्लेख गरिएको छ।
बोर्डका अनुसार स्वास्थ्य अवस्था आकस्मिक प्रकृतिको भएमा मात्र त्यस्ता बिरामीलाई आकस्मिक सेवा दिनुपर्ने र आवश्यक परेमा उपचारपछि प्रोटोकलअनुसार भर्ना वा शल्यक्रिया गरी डिस्चार्ज गर्नुपर्नेछ।
त्यसैगरी, आम सेवाग्राहीलाई पनि सूचनाको पूर्ण पालना गर्न र स्वास्थ्यकर्मी तथा सेवा प्रदायकमाथि अनावश्यक दबाब नदिन आग्रह गरिएको छ।
यसअघि वित्तीय संकटलाई कारण देखाउँदै जेठ १६ गतेदेखि अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट आकस्मिक स्वास्थ्य बीमा सेवा बन्द गरिएको थियो।
हाल ३६ वटा निजी स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्दै आएका छन्। तर बक्यौता भुक्तानी, आर्थिक व्यवस्थापन र प्रशासनिक कमजोरीका कारण कार्यक्रम प्रभावित भएको भन्दै आलोचना बढ्दै गएको छ।




