काठमाडौं,२० जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व नछोड्ने घोषणा गरेका छन्। उनले आफू अप्ठ्यारो परिस्थितिमा जिम्मेवारी छोड्ने उद्देश्यले अध्यक्ष नबनेको स्पष्ट पारेका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले पार्टीलाई सफलतासम्म पुर्याएर मात्र नेतृत्व हस्तान्तरण गर्ने बताएका हुन्।
‘सजिलो भए प्रधानमन्त्री खानु, अप्ठ्यारो भए झोला फ्याँकेर भाग्ने होइन,’ ओलीले भने। उनले नेतृत्व सम्हाल्दा चुनौतीसँग जुधेर अघि बढ्ने उद्देश्य रहेको पनि स्पष्ट पारे।
ओलीले आफूले बीचमै जिम्मेवारी छोड्ने भन्ने आशंका नगर्न आग्रह गर्दै पार्टीलाई सफलतामा पुर्याएपछि मात्र विधि र विधानअनुसार विश्राम लिने बताए।
उनले विगतमा पितृ शोक, गिरफ्तारी र शल्यक्रियाजस्ता कारणले केही समय असहज अवस्था आएको भए पनि अब पार्टी गतिविधिमा सक्रिय रूपमा संलग्न हुने उल्लेख गरे। ‘पार्टी, आन्दोलन र देशलाई चुनौतीको सामना गर्दै अघि बढाउने संकल्प यथावत छ,’ ओलीले भने।




