spot_img

कमला पुल निरीक्षणमा मन्त्री लम्सालप्रति स्थानीयको आक्रोश

spot_img
spot_img

बीरगन्ज,२४ जेठ । पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीमाथिको बहुचर्चित पुलको अवस्था अझै अन्योलमै रहँदा निरीक्षणका लागि पुगेका भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालप्रति स्थानीयले आक्रोश पोखेका छन्।

शनिबार साँझ पुलस्थल पुगेर निर्माण प्रगतिको अवलोकन गरेका मन्त्री लम्सालले काम शीघ्र सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका थिए। तर पुल कहिले सम्पन्न हुन्छ, पुरानै संरचनालाई निरन्तरता दिने कि नयाँ योजना ल्याउने भन्ने विषयमा स्पष्ट धारणा नआएपछि स्थानीय असन्तुष्ट बने।

स्थानीय युवाहरूले मन्त्रीसँग प्रत्यक्ष रूपमा प्रश्न उठाउँदा ठोस जवाफ नपाएको भन्दै नाराबाजीसमेत गरेका थिए। “फोटो खिच्न मात्र होइन, जवाफ दिनुपर्छ” र “मधेशलाई उपेक्षा बन्द गर” जस्ता नाराले केही समय पुल क्षेत्र तनावग्रस्त बनेको थियो।

करिब डेढ दशकदेखि अलपत्र रहेको यो पुलको निरीक्षणका लागि यसअघि पनि विभिन्न उच्च पदस्थ अधिकारीहरू पुग्दै आएका छन्। तर बारम्बारको अनुगमन र प्रतिबद्धताका बाबजुद निर्माण कार्य अझै पूरा हुन नसक्दा स्थानीयमा निराशा बढ्दो छ।

हुलाकी कमला पुल संघर्ष समितिका संयोजक इन्जिनियर प्रविन यादवका अनुसार मन्त्री लम्सालले “हामी बोल्न होइन, काम गर्न आएका हौं” भन्ने प्रतिक्रिया दिएका थिए। यद्यपि स्पष्ट समयसीमा र कार्ययोजना सार्वजनिक नगरेपछि स्थानीयको असन्तुष्टि झनै चुलिएको छ।
स्थानीयवासीले यसपटक पनि ठोस निर्णय नआएको भन्दै पुल निर्माणको भविष्य अझै अन्योलमै रहेको प्रतिक्रिया दिएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय