वीरगन्ज,२४ जेठ । वीरगन्ज महानगरपालिका–३१ स्थित मिलन चोक उत्तरतर्फको फुटबल ग्राउन्ड क्षेत्रबाट अवैध सालको काठसहित पाँच वटा साइकल बरामद गरिएको छ।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस बेल्वाबाट खटिएको मोबाइल टोली र सब–डिभिजन वन कार्यालय सबैयाको संयुक्त टोलीले जङ्गलबाट अवैध रूपमा कटान गरी साइकलमा लोड गरेर ल्याइँदै गरेको काठ बरामद गरेको हो।
टोलीले करिब ४५ क्युबिक फिट सालको गोलिया काठ र पाँच थान साइकल नियन्त्रणमा लिएको जनाएको छ। सुरक्षा निकायको टोली देख्नासाथ काठ ओसारपसारमा संलग्न व्यक्तिहरू सामान छाडेर फरार भएका थिए।
बरामद काठ र साइकल आवश्यक कारबाहीका लागि सब–डिभिजन वन कार्यालय सबैयामा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन राज निरौलाले जानकारी दिए।
घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।




