काठमाडौँ,२५ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले आफ्नो गणितीय बहुमतको आडमा संवैधानिक सीमा र शक्ति पृथकीकरणको सिद्धान्तलाई कमजोर बनाउन खोजेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै लिङ्देनले सरकारका प्रारम्भिक लक्षणहरू ठिक नदेखिएको बताए ।
लामिछानेको भारत भ्रमण र सरकारको काम कारबाहीबारे केन्द्रित रहेको बैठकमा लिङ्देनले छलफलको सुरुवात हुनुलाई सकारात्मक भनेका छन् । ‘दलहरूबिच कुराकानी हुनु राम्रो हो, तर भारत भ्रमणमा जानुअघि नै यस्तो छलफल भएको भए अझ परिपक्वता देखिन्थ्यो र अनावश्यक टिप्पणी आउने वातावरण बन्दैनथ्यो,’ लिङ्देनले भने ।
बैठकमा लिङ्देनले संसद्मा प्रतिपक्षको सङ्ख्या कम हुँदैमा सरकारले आफूलाई विकल्पहीन नठान्न सुझाव दिएको बताए । ‘प्रतिपक्ष गणितीय हिसाबले कमजोर छ भन्दैमा शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनको व्यवस्थालाई भत्काउने काम नहोस्। वैदेशिक सम्बन्धको सवालमा अपरिपक्व व्यवहार देखाउनु मुलुकका लागि घातक हुनसक्छ,’ लिङ्देनले भने ।
लिङ्देनले सभापति लामिछानेले भारतमा दिएको ‘हामी विगतको भारी बोक्दैनौँ’ भन्ने अभिव्यक्तिको पनि व्याख्या गर्दै वैदेशिक सम्बन्धमा संवेदनशीलता अपनाउन सुझाव दिएको बताए ।लिङ्देनले सर्वदलीय बैठकमा संसद्को वर्तमान गतिरोध अन्त्य गर्ने विषयमा भने कुनै कुराकानी नभएको बताए । बैठक मुख्यतः लामिछानेको विदेश भ्रमणको ब्रिफिङ र सरकारको समीक्षामा मात्र सीमित रहेको लिङ्देनले बताए ।




