बीरगन्ज,२५ जेठ । पर्साको वीरगञ्ज–१३ राधेमाईस्थित साउथ जोन माध्यमिक विद्यालयले आफ्ना करिब १,८२५ विद्यार्थीलाई लक्षित गर्दै दुर्घटना तथा स्वास्थ्य बीमा सुविधा सुरु गरेको छ। विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै आकस्मिक स्वास्थ्य तथा दुर्घटनाजन्य खर्चका कारण अभिभावकमाथि पर्ने आर्थिक भार कम गर्ने उद्देश्यले विद्यालयले यो योजना कार्यान्वयनमा ल्याएको जनाएको छ।
विद्यालयका सञ्चालक तथा प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरी को पहलमानेको इन्स्योरेन्स लिमिटेडसँगको सहकार्यमा प्रत्येक विद्यार्थीका लागि कुल रु. १ लाख ३ हजार ५ सय बराबरको बीमा सुविधा उपलब्ध गराइएको हो। यसअन्तर्गत रु. १ लाखको दुर्घटना बीमा तथा रु. ३ हजार ५ सयको स्वास्थ्य बीमा समावेश गरिएको छ।
विद्यालयका अनुसार बीमा सुविधा २४ घण्टा लागू रहनेछ। विद्यार्थी विद्यालय, घर, यात्रा, खेलकुद गतिविधि वा अन्य कुनै पनि स्थानमा दुर्घटनामा परेमा उपचार खर्चका लागि दाबी गर्न सक्नेछन्। दुर्घटना बीमा अन्तर्गत वार्षिक रूपमा अधिकतम रु. १ लाखसम्म तथा प्रत्येक घटनामा अधिकतम रु. २० हजारसम्म उपचार सुविधा प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।
यस्तै, स्वास्थ्य बीमा अन्तर्गत सामान्य बिरामी पर्दा ओपीडी टिकट तथा औषधोपचार खर्चबापत वार्षिक अधिकतम रु. ३ हजार ५ सयसम्म दाबी गर्न सकिने विद्यालयले जनाएको छ।
विद्यालय प्रशासनले यो योजनाले विद्यार्थीहरूको सुरक्षा प्रणालीलाई थप मजबुत बनाउने, आकस्मिक स्वास्थ्य तथा दुर्घटनासम्बन्धी खर्च व्यवस्थापनमा सहयोग पुग्ने तथा अभिभावकलाई आर्थिक राहत प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।




