बीरगन्ज,११ असार । म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–६ महभिरस्थित बेनी–जोमसोम सडकखण्डमा बुधबार राति खसेको पहिरोमा पुरिएर वीरगन्जका एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा पर्साको वीरगन्ज महानगरपालिका–२१ निवासी २३ वर्षीय सोहेल मियाँ रहेका छन्।
बुधबार राति करिब ८ बजे ढुङ्गा र माटोसहितको पहिरो खस्दा एउटा विद्युतीय (ईभी) गाडी पुरिएको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय म्याग्दी र सशस्त्र प्रहरी बलको गुल्म हेक्वा म्याग्दीबाट संयुक्त उद्धार टोली घटनास्थलमा परिचालन गरिएको थियो।
उद्धारकर्मीहरूले पहिरोमा पुरिएको गाडीबाट मियाँलाई बाहिर निकालेर उपचारका लागि प्रदेश अस्पताल बेनी पुर्याएका थिए। तर अस्पताल पुगेपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




