काठमाडौं,११ असार । सरकारले चिया उद्योगीका समस्या समाधानका लागि उच्चस्तरीय कार्यदल गठन गर्ने प्रतिबद्धता जनाएपछि झापा र इलाममा बन्द रहेका चिया उद्योगहरू पुनः सञ्चालनमा आएका छन्।
भारतीय पक्षले नेपाली चियाको निर्यातमा विभिन्न अवरोध सिर्जना गरेपछि असारको पहिलो साता बन्द भएका उद्योगहरू सरकारको पहलपछि खुल्न थालेका हुन्। नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिव गुप्ताका अनुसार झापाका ३० वटा सीटीसी चिया उद्योग बिहीबारदेखि सञ्चालनमा आएका छन् भने इलामलगायत पहाडी जिल्लाका उद्योगहरू पनि क्रमशः खुल्ने तयारीमा छन्।
सरकारले चिया निर्यातमा देखिएको समस्या समाधानका लागि प्रधानमन्त्री सचिवालयको समन्वयमा विभिन्न मन्त्रालय तथा निकायका प्रतिनिधिहरू सम्मिलित विशेष कार्यदल गठन गरेको छ। कार्यदललाई दुई साताभित्र तत्कालीन, मध्यकालीन र दीर्घकालीन समाधानका उपायसहित प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।
उद्योगीहरूले सरकारले समस्या समाधानका लागि चासो देखाएपछि तत्कालका लागि उद्योग सञ्चालन गर्ने निर्णय गरेको बताएका छन्। यद्यपि निर्यात प्रक्रिया सहज नभएसम्म उत्पादन भएको चिया गोदाममै भण्डारण गरेर राख्नुपर्ने अवस्था कायम रहने उनीहरूको भनाइ छ।
भारतीय चिया बोर्डले गत वैशाखदेखि नेपाली चियाको गुणस्तर परीक्षणका नाममा नयाँ मापदण्ड लागू गरेपछि निर्यात प्रभावित बनेको थियो। प्रत्येक चिया बोकेको गाडीको अनिवार्य प्रयोगशाला परीक्षण, लामो प्रतीक्षा अवधि र अतिरिक्त शुल्कका कारण निकासी प्रक्रिया अवरुद्ध भएको उद्योगीहरूको गुनासो छ।
निर्यात अवरोधका कारण करिब सयवटा चिया उद्योग बन्द भएका थिए। यसबाट एक लाखभन्दा बढी मजदुर, ३० हजार किसान तथा समग्र चिया उद्योग प्रत्यक्ष प्रभावित भएको थियो। उद्योग बन्द हुँदा दैनिक करिब दुई करोड रुपैयाँ बराबरको क्षति भइरहेको उद्योगीहरूको दाबी छ।
नेपालमा वार्षिक रूपमा २ करोड किलोभन्दा बढी सीटीसी तथा करिब ६५ लाख किलो अर्थोडक्स चिया उत्पादन हुने गरेको तथ्यांक छ।




