सिरहा,११ असार । सिरहाको धनगढीमाई नगरपालिका–९ स्थित कौशल एग्रो राइस मिलविरुद्ध धान व्यापारीहरू ८ दिनदेखि गेटमै धर्नामा बसेका छन्। बिक्री गरिएको धानको भुक्तानी नपाएको भन्दै व्यापारीहरूले आन्दोलन जारी राखेका हुन्।
व्यापारीहरूका अनुसार गाउँ–गाउँबाट किसानको धान खरिद गरी मिललाई बुझाइएको भए पनि ६ देखि ८ महिनासम्मको रकम अझै भुक्तानी नभएको गुनासो छ। उनीहरूले करिब १ हजार ५० क्विन्टल धान बराबर ४० देखि ४५ लाख रुपैयाँ बक्यौता रहेको दाबी गरेका छन्।
व्यापारी रामनाथ साहका अनुसार भुक्तानी नहुँदा किसानहरू समेत आफूहरूलाई घरमै आएर दबाब दिन थालेका छन्। अर्का व्यापारी प्रमेश साहले पटक–पटक ताकेता गर्दा पनि रकम नपाएको र समस्या समाधानका लागि कुनै पहल नभएको आरोप लगाए।
व्यापारी उमेशकुमार महतोले रोपाइँको समयमा किसानलाई तत्काल नगद आवश्यक पर्ने भएकाले उद्योगको ढिलाइले किसान थप समस्यामा परेको बताए। उनका अनुसार मल, बीउ तथा कृषि कामका लागि किसान ऋण लिन बाध्य भएका छन्।
आन्दोलनरत व्यापारीहरूले जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयमा समेत निवेदन दिएको जनाएका छन्। उनीहरूले भुक्तानी नहुँदासम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्। साथै उद्योग पक्षबाट दबाब र धम्की आउने गरेको आरोपसमेत लगाएका छन्।
तर, कौशल एग्रो राइस मिलका सञ्चालक कुशेश्वरप्रसाद साहले व्यापारीहरूको आरोप अस्वीकार गर्दै सबै भुक्तानी भइसकेको दाबी गरेका छन्। उनले केही महिनाअघि उद्योग खरिदसम्बन्धी विवादका कारण समस्या देखिएको उल्लेख गर्दै आफू अन्यायमा परेको बताएका छन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी बासुदेव पाठकका अनुसार दुवै पक्षका उजुरीमाथि अनुसन्धान भइरहेको छ। उनले छलफलका लागि दुवै पक्षलाई बोलाइने र उपस्थित नभए कानुनी प्रक्रिया अघि बढाइने जानकारी दिए।
व्यापारीहरूले भने उद्योग पक्षलाई भुक्तानीको प्रमाण सार्वजनिक गर्न चुनौती दिएका छन्। विवाद लम्बिँदै जाँदा रोपाइँको समयमा नगद अभाव झेलिरहेका किसानहरू सबैभन्दा बढी प्रभावित बनेका छन्।




