जनकपुर,११ असार । मधेश प्रदेशका अर्थमन्त्री युवराज भट्टराईको सरकारी गाडी तोडफोड गरेको आरोपमा एक जना व्यक्ति पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पक्राउ पर्ने व्यक्ति महोत्तरी गाउँपालिका–६ का जितेन्द्र मिश्र हुन्। उनलाई बुधबार दिउँसो मधेश भवन परिसरबाट सिसिटिभी फुटेजका आधारमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनी स्कारपियो चढेर मधेश भवन पुगेका थिए। सोही क्रममा मन्त्रालय अगाडि पार्किङमा राखिएको मन्त्री भट्टराई चढ्ने ज १ झ ४४१ नम्बरको गाडीमा राखिएको राष्ट्रिय झन्डा निकालेर तोडफोड गर्दै भुइँमा फालेको सीसीटीभीमा देखिएको बताइएको छ। त्यसपछि उनी करिब ४–५ मिनेट मन्त्रालय परिसरभित्र पनि हिँडडुल गरेको फुटेजमा देखिन्छ।
घटना बुधबार बिहान करिब ११ बजे भएको हो। घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भई मधेश भवन परिसरमा केही घण्टा अनुसन्धान गरिएको थियो।
यो घटना मधेश प्रदेश अन्तर्गतको प्रशासनिक केन्द्र जनकपुरमा भएको हो भने आरोपी हाल प्रहरी नियन्त्रणमा रहेका छन्।




