काभ्रेपलाञ्चोक,१३ असार । स्तरोन्नति कार्यलाई तीव्रता दिन अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डमा असार २२ गतेदेखि साउन ४ गतेसम्म रातिको समयमा सवारी आवागमन बन्द गरिने भएको छ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार उक्त अवधिमा बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म यात्रुवाहक तथा अन्य मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ। साथै, टिपर र ठूला मालवाहक ट्रकलाई भने सडकखण्डमा पूर्ण रूपमा प्रवेश निषेध गरिने निर्णय गरिएको छ।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार सडक कालोपत्रे कार्य समयमै सम्पन्न गर्न र निर्माणलाई सहज बनाउन यो व्यवस्था गरिएको हो। आर्थिक वर्षको अन्त्यका कारण निर्माण सामग्री ढुवानी प्रभावित नहोस् भन्ने उद्देश्यले समय व्यवस्थापन गरिएको उनले बताए।
यद्यपि, एम्बुलेन्सलगायत अत्यावश्यक सेवाका सवारीसाधनलाई भने रातिको समयमा पनि पूर्ववत् सञ्चालन गर्न दिइनेछ।
प्रशासनले यात्रु तथा सवारी चालकलाई सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। साथै, सवारी व्यवस्थापनका लागि काठमाडौं, भक्तपुर, दोलखा र सिन्धुपाल्चोकका जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरिने जनाइएको छ।
यसअघि पनि गत चैत महिनामा यही सडकखण्डमा करिब एक महिनासम्म राति आवागमन बन्द गरेर सडक कालोपत्रे गरिएको थियो।




