बीरगन्ज,२७ जेठ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका मा निजी विद्यालयहरूको अनुगमन गर्दा शिक्षा क्षेत्रमा गम्भीर अनियमितता फेला परेको छ। उपमहानगरपालिकाले सार्वजनिक गरेको प्रतिवेदनअनुसार केही विद्यालयले अनुमति बिना माथिल्लो कक्षा सञ्चालन गर्ने, विद्यार्थीलाई अन्य विद्यालयको इएमआईएसमा दर्ता गर्ने तथा सञ्चालन अनुमति नै नलिई पठनपाठन गराउने जस्ता गतिविधि गरेको पाइएको हो।
अनुगमनका क्रममा वडा नं. १७ रामनगरस्थित एडभान्स ई. बोर्डिङ स्कुलले कक्षा ५ सम्म मात्र अनुमति हुँदाहुँदै कक्षा ६ र ८ सञ्चालन गरेको भेटिएको छ। सो विद्यालयका विद्यार्थीलाई भने वडा नं. १८ मनहर्वास्थित मिसन एकेडेमीको इएमआईएसमा दर्ता गरिएको पाइएको छ।
यस्तै, रजघट्टास्थित डुमरवाना पब्लिक ई. बोर्डिङ स्कुलले अनुमति नपाएको कक्षा १० सञ्चालन गरेको देखिएको छ भने ती विद्यार्थीहरूलाई जीतपुरस्थित अम्ब्रेला एकेडेमीमा दर्ता गरिएको अनुगमन टोलीले जनाएको छ।
सिमराको न्यु होराइजन बोर्डिङ स्कुलले अनुमति भन्दा माथिका कक्षा सञ्चालन गरिरहेको पाइएको छ भने अमलेखगञ्जस्थित नार्थ एन्जल बोर्डिङ स्कुलले कक्षा ८ देखि १० सम्म पढाइरहेको भेटिएको छ। त्यस्तै, लिटल एन्जल बोर्डिङ स्कुलले पनि अनुमति बिना कक्षा ६ र ७ सञ्चालन गरेको प्रतिवेदनमा उल्लेख छ।
सबैभन्दा गम्भीर रूपमा चकरीस्थित आदर्श किड्स ल्याण्डले सञ्चालन अनुमति नै नलिई बालविकास कक्षा सञ्चालन गरेको पाइएको छ।
उपमहानगरपालिकाले यस्ता गतिविधि शिक्षा नियमावलीविपरीत भएको ठहर गर्दै सम्बन्धित विद्यालयमाथि कानुनी कारबाहीदेखि सञ्चालन अनुमति खारेजसम्मको चेतावनी दिएको छ। अबदेखि अनुमति प्राप्त कक्षाभन्दा माथि पढाउन, अभिभावकलाई भ्रामक सूचना दिन वा विद्यार्थीलाई एक विद्यालयमा पढाएर अर्को विद्यालयको इएमआईएसमा दर्ता गर्न नपाइने स्पष्ट गरिएको छ।
नगरप्रमुख राजन पौडेल ले अनियमितता दोहोरिए कडा कारबाही गरिने र आवश्यक परे विद्यालयको अनुमति नै रद्द गरिने चेतावनी दिएकाे छ।




