spot_img

बालअधिकार संरक्षणका लागि संवेदनशील पत्रकारिता आवश्यक : प्रमुख लामिछाने

spot_img
spot_img

बीरगन्ज,२७ जेठ । बालअधिकार संरक्षण तथा प्रवर्द्धनमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको भन्दै बालबालिकासँग सम्बन्धित समाचार सम्प्रेषण गर्दा पत्रकारहरूले थप संवेदनशीलता अपनाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।

युवालयद्वारा बुधबार बीरगन्जमा आयोजित ‘बाल अधिकार संरक्षण तथा संवर्द्धनमा सञ्चारकर्मीहरूको भूमिका’ विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले बालबालिकाको अधिकार, गोपनीयता र सम्मानलाई प्राथमिकतामा राखेर पत्रकारिता गर्नुपर्ने आवश्यकता औंल्याएका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै बीरगन्ज महानगरपालिकाका शिक्षा शाखा प्रमुख आनन्द लामिछानेले विद्यालय तथा शैक्षिक संस्थासँग सम्बन्धित समाचार संकलन र प्रकाशन गर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बालअधिकार मापदण्डको पूर्ण पालना हुनुपर्ने बताए। उनले पछिल्लो समय केही सञ्चारमाध्यमले बालबालिकाको पहिचान खुल्ने गरी समाचार र भिडियो सामग्री प्रकाशन गरेकोप्रति चिन्ता व्यक्त गर्दै यस्ता कार्यले बालअधिकार हनन हुन सक्ने चेतावनी दिए।

लामिछानेले बीरगन्ज महानगरपालिकाले निकट भविष्यमै ‘साक्षर महानगर’ घोषणा गर्ने तयारी गरिरहेको जानकारी पनि दिए। उनका अनुसार महानगरका ३२ वडामध्ये २७ वडा साक्षर घोषणा भइसकेका छन् भने बाँकी वडाहरूलाई समेत साक्षर घोषणा गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

कार्यक्रममा प्रशिक्षक रामप्रवेश साहले मधेश प्रदेशको शिक्षा क्षेत्रको अवस्था, बालअधिकार कार्यान्वयन तथा बालमैत्री वातावरण निर्माणका विषयमा प्रस्तुति दिएका थिए। उनले बालबालिकाको हित सुनिश्चित गर्न सञ्चारमाध्यम, स्थानीय सरकार, विद्यालय र अभिभावकबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए।

छलफलका क्रममा सहभागी पत्रकारहरूले बालअधिकार संरक्षणमा सञ्चारमाध्यमको जिम्मेवारी, चुनौती र अवसरबारे आफ्ना धारणा राख्दै तथ्यमा आधारित, जिम्मेवार र बालमैत्री पत्रकारितामार्फत बालअधिकार प्रवर्द्धनमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका थिए।

बीरगन्जस्थित होटल वृन्दावनमा आयोजित कार्यक्रममा युवालयका प्रतिनिधि, नेपाल पत्रकार महासंघ पर्साका पदाधिकारी तथा विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन युवालयका पर्सा प्रतिनिधि राहुल साहले गरेका थिए।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय