बीरगन्ज,१३ असार । मानव अधिकार, सामाजिक न्याय र नागरिक स्वतन्त्रताको क्षेत्रमा क्रियाशील समूह १६ को वार्षिक साधारण सभा शनिबार बीरगन्जस्थित होटल त्रिशलामा सम्पन्न भएको छ।
समूह संयोजक रजनीश झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव सुनील महतोले सञ्चालन गरेका थिए। वरिष्ठ मार्गदर्शक राजेश जैन बोथराले स्वागत मन्तव्य राख्दै समूह १६ ले मानव अधिकार संरक्षण र सामाजिक न्यायका क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरेका थिए।
साधारण सभामा बोर्ड सदस्य ममता यादव, संगीता पटेल, कोषाध्यक्ष मन्नु यादव, सुरेश पारेख, विजय गुप्तालगायत २० जना सदस्यहरूको सहभागिता रहेको थियो।
वार्षिक प्रतिवेदनमा समूहले गत वर्ष मानव अधिकार सचेतना, नेतृत्व विकास, सामाजिक अभियान तथा सदस्यहरूबीच सहकार्य विस्तारका क्षेत्रमा उल्लेखनीय गतिविधि सञ्चालन गरेको उल्लेख गरिएको छ। साथै समुदायस्तरमा मानव अधिकारबारे जनचेतना अभिवृद्धि गर्न समूहले प्रभावकारी भूमिका खेलेको जानकारी दिइएको छ।
आगामी वर्ष विद्यालय, कलेज तथा समुदायस्तरमा मानव अधिकार शिक्षा र सचेतनामूलक कार्यक्रमलाई थप विस्तार गरिने संयोजक रजनीश झाले जानकारी दिए। विशेषगरी युवापुस्तामा नागरिक स्वतन्त्रता, सामाजिक उत्तरदायित्व र मानव अधिकारसम्बन्धी ज्ञान अभिवृद्धिमा जोड दिइने उनले बताए।
सभामा नागरिक स्वतन्त्रता, यातना तथा हिरासतमा हुने मृत्युजस्ता मानव अधिकारका संवेदनशील विषयमा विस्तृत छलफल गर्दै पीडितको न्यायमा पहुँच सुनिश्चित गर्न र प्रभावकारी वकालतलाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।
यस अवसरमा समूह १६ प्रति पुर्याएको योगदानको कदरस्वरूप पत्रकार अभिलाष कुमार गुप्तालाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।
कार्यक्रमको अन्त्यमा सहभागीहरूले मानव अधिकार संरक्षण, सामाजिक न्यायको प्रवर्द्धन र नागरिक स्वतन्त्रताको सुदृढीकरणका लागि आगामी दिनमा अझ सक्रिय र प्रभावकारी रूपमा काम गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन्।




