spot_img

तीन वर्षभन्दा बढी समय कोमामा रहेकी थाइल्याण्डकी राजकुमारी बजरकितियाभाको निधन

spot_img
spot_img

काठमाडौं,२९ जेठ । थाइल्याण्डकी राजकुमारी बजरकितियाभाको ४७ वर्षको उमेरमा निधन भएको छ। तीन वर्षभन्दा बढी समयदेखि कोमामा रहेकी उनको बिहीबार साँझ निधन भएको शाही दरबारले जनाएको छ।

शुक्रबार जारी गरिएको शाही दरबारको वक्तव्यअनुसार स्थानीय समयअनुसार साँझ ७ः४८ बजे उनको निधन भएको हो। वक्तव्यमा चिकित्सकहरूको टोलीले सम्भव भएसम्मको अत्याधुनिक र सघन उपचार उपलब्ध गराए पनि उनको स्वास्थ्य अवस्था निरन्तर बिग्रँदै गएको उल्लेख गरिएको छ।

राजकुमारी बजरकितियाभा सन् २०२२ को डिसेम्बरमा आफ्ना कुकुरहरूलाई व्यायाम गराइरहेका बेला अचानक बेहोस भएर ढलेकी थिइन्। चिकित्सकहरूका अनुसार मुटुमा भएको माइकोप्लाज्मा संक्रमणका कारण उनको मुटुको धड्कन असामान्य बनेको थियो, जसले गर्दा उनी कोमामा पुगेकी थिइन्। त्यसयता उनी उपचाररत थिइन्।

उनको निधनसँगै थाइल्याण्डको शाही परिवारले सक्रिय, प्रभावशाली र भविष्यमा शाही उत्तराधिकार प्रक्रियामा महत्वपूर्ण भूमिका खेल्न सक्ने सदस्य गुमाएको विश्लेषण गरिएको छ। उनी राजा वजिरालोङकोर्नका सात सन्तानमध्ये जेठी छोरी थिइन् । उनको जन्म ७ डिसेम्बर १९७८ मा राजाकी पहिलो पत्नी तथा आफन्त राजकुमारी सोअमसावालीबाट भएको थियो ।

राजकुमारी बजरकितियाभाले कानुन विषयमा अध्ययन गरेकी थिइन् । उनले अमेरिकाबाट दुईवटा स्नातकोत्तर उपाधि हासिल गरेकी थिइन् । त्यसपछि उनले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघमा थाइल्याण्डको स्थायी नियोगमा केही समय काम गरेकी थिइन् । पछि थाइल्याण्ड फर्किएर बैंकक तथा अन्य स्थानका महान्यायाधिवक्ताको कार्यालयमा पनि काम गरेकी थिइन् । सन् २०१२ देखि २०१४ सम्म उनी अष्ट्रियाका लागि थाइल्याण्डकी राजदूत थिइन् ।

उनले विशेष गरी जेलमा रहेका कमजोर अवस्थाका महिलाहरूको पक्षमा आवाज उठाउँदै कारागार सुधारको आवश्यकता औँल्याएकी थिइन् । थाइल्याण्डमा महिला कैदीहरूको संख्या विश्वकै उच्चमध्ये एक मानिन्छ ।

थाइल्याण्ड फर्किएपछि पनि उनले थाइल्याण्डको फौजदारी न्याय प्रणालीमा सुधारको वकालत गरिरहिन्, जहाँ सामान्य लागुऔषध राखेको अभियोगमा समेत कडा सजाय दिने गरिए को छ । सन् २०२१ मा उनका पिता राजा वजिरालोङकोर्नले उनलाई आफ्नो निजी अंगरक्षक दस्ताको प्रमुख कर्मचारी (चीफ अफ स्टाफ) नियुक्त गर्दै जनरलको दर्जा प्रदान गरेका थिए ।

राजकुमारी बजरकितियाभा फिटनेसप्रेमी पनि थिइन् । उनी लामो दूरीको दौड प्रतियोगिताहरूमा नियमित रूपमा सहभागी हुने गर्थिन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय