बीरगन्ज,०३ असार । नेपाल पत्रकार महासंघ पर्साले बीरगन्ज महानगरपालिकाको नीति र व्यवहार पत्रकारमैत्री नभएको भन्दै तत्काल सुधार गर्न पाँचबुँदे माग अघि सारेको छ।
महासंघले महानगरका कार्यवाहक प्रमुख इम्तियाज आलमलाई ज्ञापनपत्र बुझाउँदै लामो समयदेखि साप्ताहिक पत्रपत्रिका र स्थानीय सञ्चारमाध्यममाथि विभेद भएको आरोप लगाएको हो।
महासंघका अनुसार लोककल्याणकारी सूचना वापतको भुक्तानी रोकिनुका साथै साप्ताहिक पत्रपत्रिकालाई सेवा तथा सुविधाबाट वञ्चित गरिएको छ, जसले स्थानीय सञ्चार क्षेत्र आर्थिक संकटमा परेको छ।
त्यसैगरी महानगरले २०८० सालदेखि रोकिएको विज्ञापन तथा सूचना भुक्तानी तत्काल उपलब्ध गराउनुपर्ने, पत्रकार महासंघ पर्साको संस्थागत विकासका लागि विनियोजित बजेट निकासा गर्नुपर्ने र सञ्चारमाध्यमलाई समान व्यवहार गर्नुपर्ने माग गरिएको छ।
महानगरले ज्येष्ठ पत्रकारका लागि पेन्सन सुविधा सम्बन्धी कानुनी व्यवस्था गरे पनि कार्यान्वयन नभएको भन्दै त्यसलाई तत्काल लागू गर्नुपर्ने पनि महासंघको माग छ।
महासंघले लोककल्याणकारी सूचना २०८२/८३ को बजेटअनुसार तुरुन्त भुक्तानी गर्न, विभेदकारी निर्णय खारेज गर्न र बाँकी सबै बक्यौता रकम तत्काल निकासा गर्न आग्रह गरेको छ।
पत्रकार महासंघले यी मागहरू पूरा नभए स्थानीय सञ्चारमाध्यमको अस्तित्व र प्रेस स्वतन्त्रतामै असर पर्ने चेतावनीसमेत दिएको छ।




