spot_img

चिया किसानको समस्यामा सरकार उदासीन : निश्कल राई

spot_img
spot_img

काठमाडौँ,०३ असार । नेपाली कांग्रेसका सचेतक निश्कल राईले चिया क्षेत्रले अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याइरहे पनि सरकारबाट अपेक्षित ध्यान नपाएको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले प्रधानमन्त्री बालेन्द्र शाहप्रति कटाक्ष गर्दै सामाजिक सञ्जालमा चिया पसलमा पुगेर चिया पिएको देखिने तर चिया किसान र उद्योगको समस्या समाधानमा ध्यान नदिएको टिप्पणी गरे।

राईका अनुसार नेपालले वार्षिक ३ करोडभन्दा बढी तयारी चिया निर्यात गर्दै आएको भए पनि हाल छिमेकी देश भारतले लागू गरेको नयाँ झन्झटिलो मापदण्डका कारण इलामका चिया उद्योगी र किसान गम्भीर समस्यामा परेका छन्।

उनले भारतीय चिया बोर्डले लागू गरेको ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) का कारण चियाको गुणस्तर परीक्षण प्रक्रिया लामो र जटिल बनेको बताए। परीक्षण रिपोर्ट आउन दुई साताभन्दा बढी समय लाग्ने र रिपोर्ट नआएसम्म चिया बिक्री गर्न नपाइने अवस्थाले उद्योगहरू ठप्प भएका छन्।

राईका अनुसार उक्त मापदण्डका कारण इलाम जिल्लाका ८३ वटा चिया उद्योग बन्द भएका छन्, जसमा सूर्योदय नगरपालिकाका मात्रै ५३ उद्योग प्रभावित छन्।

उद्योग बन्द हुँदा किसानले उत्पादन गरेको हरियो चियापत्ती खेर गइरहेको, मजदुरको रोजगारी गुमिरहेको र उद्यमीहरू बैंकको ऋण तिर्न नसक्ने अवस्थामा पुगेको उनले बताए।

समस्या समाधानका लागि राईले तत्काल कूटनीतिक पहलमार्फत भारतसँग जीटुजी (सरकार–सरकार) स्तरमा संवाद अघि बढाउन, नेपालमै चिया परीक्षण प्रयोगशाला स्थापना गर्न र तेस्रो मुलुकमा निर्यातका लागि वैकल्पिक बजार खोज्न सरकारसँग माग गरेका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय