काठमाडौं,०३ असार । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले जनता समाजवादी पार्टी (जसपा) नेपालसँग चलिरहेको एकता संवादलाई थाँती राख्दै नयाँ राजनीतिक मोर्चा निर्माणतर्फ अग्रसर भएपछि मधेस राजनीतिमा नयाँ बहस सुरु भएको छ।
जनमत पार्टीले श्रम संस्कृति पार्टी, उज्यालो नेपाल पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँग मिलेर ‘राष्ट्रिय वैकल्पिक मोर्चा’ गठन गर्ने निर्णय सार्वजनिक गरेपछि जसपा नेपालका नेताहरूले आश्चर्य व्यक्त गरेका छन्।
यसअघि जनमत पार्टी र जसपा नेपालबीच पार्टी एकताका लागि पटक–पटक उच्चस्तरीय छलफल भएको थियो। दुवै दलले वार्ता समिति समेत गठन गरेर एकताको सम्भावना खोजिरहेका थिए। जसपा नेपालले रकम चेम्जोङको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो भने जनमत पार्टीले नरेन्द्रप्रसाद चौधरीको नेतृत्वमा वार्ता टोली बनाएको थियो।
तर, जनमत पार्टीले अन्य दलहरूसँग मोर्चाबन्दी र सम्भावित एकताको पहल अघि बढाउने निर्णय गरेपछि जसपा नेपालभित्र असन्तुष्टि देखिएको छ। जसपा नेताहरूका अनुसार दुई दलबीचको एकता प्रक्रियाले मधेसमा सकारात्मक सन्देश दिएको भए पनि पछिल्लो कदमले विश्वासको वातावरण कमजोर बनाएको छ।
यता जनमत पार्टीका उपाध्यक्ष तथा वार्ता समिति संयोजक नरेन्द्रप्रसाद चौधरीले भने जसपासँगको एकता प्रक्रिया सञ्चारमाध्यममा चर्चा भएजस्तो तीव्र गतिमा अघि नबढेको बताएका छन्। उनका अनुसार जनमत पार्टीले जसपा नेपालसहित अन्य राजनीतिक दलहरूसँग पनि आवश्यकता अनुसार संवाद जारी राख्नेछ।
राजनीतिक रूपमा हेर्दा डा. राउत पछिल्लो समय वैकल्पिक राजनीतिक शक्तिहरूसँग सहकार्यको रणनीतिमा देखिएका छन्। यसअघि उनले विभिन्न दलसँग कार्यगत एकता र राजनीतिक सहकार्यका प्रयास गरे पनि ती दीर्घकालीन बन्न सकेका थिएनन्।
जसपा नेपालका नेता शैलेन्द्र साहले पनि जनमतसँगको एकता संवाद हाल स्थगित अवस्थामा रहेको स्वीकार गर्दै आफ्नो पार्टीले अन्य दलहरूसँग समेत सहकार्य र एकताको सम्भावना खोजिरहेको बताएका छन्।
राउतको पछिल्लो कदमले मधेस केन्द्रित दलहरूबीचको सम्भावित एकता प्रक्रिया प्रभावित हुने संकेत देखिएको छ भने आगामी दिनमा नयाँ राजनीतिक समीकरण बन्ने सम्भावनालाई पनि बलियो बनाएको छ।




