काठमाडौं,०३ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा विदेशी मुद्रा बाहिर लैजान लागेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सुनसरीका ४० वर्षीय बेचन मिया र ५१ वर्षीय एक चिनियाँ नागरिक रहेका छन्। उनीहरूलाई अन्तर्राष्ट्रिय प्रस्थानतर्फको ह्यान्ड ब्यागेज जाँचका क्रममा विमानस्थल सुरक्षा प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार कतार एयरवेजमार्फत काठमाडौंबाट कतार जान लागेका बेचन मियाको साथबाट ४२ हजार ४ सय कतारी रियाल बरामद गरिएको छ।
त्यसैगरी, चाइना इस्टर्न एयरलाइन्सको उडानमार्फत चीन जान लागेका चिनियाँ नागरिकको साथबाट ७ हजार ५ सय अमेरिकी डलर फेला परेको प्रहरीले जनाएको छ।
बरामद मुद्रासहित दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।




