काठमाडौं,०३ असार । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङसहितका सांसदहरूको विरोधपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
बुधबारको बैठकमा विभिन्न मन्त्रालयका मन्त्रीहरूले दिएका जवाफप्रति असन्तुष्टि जनाउँदै सांसद साम्पाङले संसद्को वेल घेराउ गरेका थिए। उनका अनुसार उठाइएका विषयमा सरकारबाट आएको जवाफ सन्तोषजनक नभएकाले विरोध गर्नुपरेको हो।
सभामुख डीपी अर्यालले पटक–पटक सांसदहरूलाई आफ्नो स्थानमा फर्किएर बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरेका थिए। तर विरोध जारी रहेपछि उनले सदनको बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गरे।
यसअघि पनि वेल घेराउकै बीच सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमल्सिनाले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिएका थिए।
सांसद साम्पाङले सरकारका गतिविधि र विभिन्न सार्वजनिक सरोकारका विषयमा स्पष्ट र जिम्मेवार जवाफ दिनुपर्ने माग गर्दै आएका छन्। विपक्षी र साना दलहरूको विरोधका कारण पछिल्ला दिनमा संसद्को कार्यसूची प्रभावित हुँदै आएको छ।




