काठमाडौं । बारा र पर्सामा आएको विनाशकारी ‘आँधी टर्नेडो’को कारण ठूलो जनधनको क्षति भएको केही समय पछि फेरि नेपालमा ‘फानी’ नाम गरेको समुन्द्री आँधीको प्रभाव देखिएको छ ।
बंगालको खाडीबाट शुरु भएर भारतको उडिसा राज्यमा वितण्डा मच्चाइरहेको चक्रावत फानीको प्रभाव नेपालमा पनि देखिएको हो ।
झण्डै दुई सय किलोमिटर प्रतिघण्टाको वेगमा रहेको फानी नाम गरेको समुन्द्री आँधीका कारण भीषण हावाहुरी र वर्षा तथा चट्याङ पर्न सक्ने खतरा रहेको भन्दै मौसविदहरुले सतर्क रहन आग्रह गरेका छन् ।
चक्रवात फानीका कारण शुक्रबार बिहानैदेखि काठमाडौंलगायत देशभरको मौसम परिवर्तन भएको छ । मौसममा आएको परिवर्तनका कारण शुक्रबार विहानदेखि आन्तरिक तर्फका सबै हवाई उडान रद्द भएका छन् । यद्यपि अन्तर्राष्ट्रियतर्फका उडान भने जारी छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले मौसममा आएको खराबीका कारण विहान १० बजेदेखि आन्तरिक तर्फका सबै उडान बन्द गरिएको जानकारी दिए ।
आज विहान देखि काठमाडौं लगायका स्थानको मौसम दिउँसै अध्यारो जस्तो हुन गएको छ । फानीकै कारण केहिबेरपछि काठमाडौंसहित देशभर हावाहुरी चल्ने मौसमविद विभूति पोखरेलले जानकारी दिइन् ।
‘हामीले धेरै अघिदेखि भरिहेका छौं । यसको प्रभाव कत्तिको पर्छ अहिले नै भन्न सक्ने अवस्था छैन । त्यसैले सबै आआफ्नो रुपमा सचेत हुनुपर्छ,’ पोखरेलले भनिन्, ‘विशेषगरी हिमाली क्षेत्रमा मानिसले धेरै सचेतना अपनाउनुपर्ने देखिएको छ । सकेसम्म हिमाल आरोहण गर्ने व्यक्तिहरु तल र सुरक्षित ठाउँमा बस्नु राम्रो हुनेछ ।’