बर्दिया – बर्दियाका प्रमुख जिल्ला अधिकारीका चालकलाई शनिबार कोरोना पोजेटिभ देखिएपछि परीक्षण गर्दा नयाँ आएका प्रमुख जिल्ला अधिकारी र उहाँकी पत्नीको स्वाब रिपोर्ट नेगेटिभ आएको छ ।
शनिबार बेलुका १९ जनाको स्वाब संकलन गरिएकोमा प्रजिअ लिलाधर अधिकारी र उहाँकी पत्नीको रिपोर्ट नेगेटिभ आएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो ।
नेपालगञ्जको भेरी अस्पातालमा गरिएको स्वाब परीक्षणको रिपार्ट अनुसार शनिबार बर्दियाका प्रमुख जिल्ला अधिकारीका सवारी चालकलाई कोरोना पोजेटिभ देखिएको थियो ।
बर्दियाबाट भर्खरै मात्र मन्त्रालय सरुवा हुनुभएका प्रजिअ प्रेमलाल लामिछानेलाई पुर्याउन जाँदा सँगै स्वाब परीक्षण गरिएपछि प्रजिअ लामिछानेको रिपोर्ट नेगेटिभ र चालकको रिपोर्ट पोजेटिभ आएको थियो । नयाँ प्रजिअ लिलाधर अधिकारीले त्यही गाडी प्रयोग गर्नुभएको थियो ।
अहिले कार्यालयका सबै कर्मचारी होम क्वरेन्टीनमा रहेको बताउँदै प्रजिअ अधिकारीले भन्नुभयो, ‘हामीले संक्रमितबाट कन्ट्याक्ट हिस्ट्री लिँदैछौँ आवस्यक परे परीक्षणको दायरा पनि बढाउँछौँ ।’
पीसीआर रिपोर्ट नआएसम्म सबैलाई होम क्वरेन्टीनमा राखिएको र रिपोर्ट नआएसम्म कार्यालयको काम पनि फोनबाट हुने भएको जनाइएको छ । सङ्क्रमण देखिएका चालकलाई गुलरियाको जिल्ला समन्वय समितिको आइसोलेसनमा राखिएको छ ।
नयाँ प्रजिअको कार्यक्रममा सहभागी पत्रकारहरुको पनि स्वाब परीक्षणको व्यवस्था गर्नुपर्ने नेपाल पत्रकार महासंघ बर्दियाले माग गरेकाे छ ।




