जनकपुर : बलात्कार पछि हत्या भएकाे कञ्चन कुमारी पजियारका लागि न्याय माग्न तथा लकडाउनका कारण प्रभावित भएकाहरूकाे राहतमा प्रभावकारी कदम चाल्न नसकेकाे भन्दै प्रदेश र स्थानिय सरकार विरूद्ध जनकपुरका युवाहरूले प्रदर्शन गरेका छन् ।
मंगलबार जनक चाेकमा भेला भएका स्थानिय युवाहरूले राहत देखि बजेट सम्मका विषयहरूमा भ्रष्टाचारमा चुर्लुम्म डुबेकाे प्रदेश र स्थानिय सरकारका विरूद्ध प्रदर्शन गरेका हुन् ।
लकडाउनका बेला सरकारकाे लापरबाहीका कारण खाना नपाएर सर्वसाधारणहरूकाे मृत्यु भएकाे, महिला हिंसा बढेकाे र भ्रष्टाचारमा अपार वृद्धि भएकाे भन्दै युवाहरू आन्दाेलित भएका हुन् ।
बलात्कारीलाइ फाँसी दे, इनफ इज इनफ, हिंसा बन्द गर लगायतका नारा लेखिएका प्लेकार्ड सहित युवाहरूले प्रदर्शन गरेका हुन् ।
कायापलट, ओरेक नेपाल, मोर्डन मिथिला, एम्नेष्टी इन्टरनेशललगायतका संस्थामा आवद्ध तथा स्वतन्त्र युवाहरुले गरेकाे प्रदर्शन शान्तिपुर्ण रूपमा सम्पन्न भएकाे अभियन्ता कैयुम राइनले बताए ।
अभियन्ता राइनका अनुसार पछिल्लाे समय जनकपुरधाममा विभिन्न खालका विकृतीहरूले प्रश्रय पाएका छन् ।
शम्भु सदा देखि कञ्चन पजियार सम्मकाे घटनाकाे छानबिनमा उदासिन देखिएकाे प्रदेश र स्थानिय सरकारलाइ झक्झकाउनका निमित्त बाध्य भएर प्रदर्शन उत्रिएकाे प्रदर्शनमा सहभागि भएका एक युवाकाे भनाइ छ ।

