शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
13.8 C
Kathmandu
14.4 C
Kathmandu
22.8 C
Birgunj

वीरगञ्जमा नेपाली कांग्रेससँग मुकाबिला गर्न सक्ने कोही छैन- कञ्चन झा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगञ्ज, १७ चैत । स्थानीय तहको चुनावी सरगर्मी चढेसँगै वीरगञ्ज महानगर हाँक्ने (मेयर) आकांक्षीहरूको सक्रियता बढेको छ। मतदाता रिझाउने र नेता फकाउने खटनपटनमै व्यस्त देखिन्छन् आकांक्षीहरू। अहिलेसम्म कुनै पनि दलले आधिकारिकरूपमा आफ्नो उम्मेदवार तय गरिसकेको त छैन। तर, प्राय: प्रतिस्पर्धी दलबाट सम्भावित उम्मेदवारहरू मैदानमा उत्रिसकेका छन्। कोही पार्टीले आफैंलाई उम्मेदवार बनाउने निश्चिन्त भएर भिडिरहेका छन् त, कोही पार्टीले आफूलाई विश्वास गर्ने आत्मविश्वासका साथ लागिपरेका छन्। अहिले वीरगञ्ज महानगरको मेयरको चर्चामा रहेको एउटा मुख्य नाम कञ्चन झा पनि हो। जो अन्तर्राष्ट्रिय सम्बन्धमा अमेरिकाबाट स्नातकपछि वीरगञ्ज फर्केर सामाजिक काममा जोडिएका व्यक्ति हुन् र उनी नेपाली कांग्रेसमा आवद्ध छन्।

- Advertisement -

वीरगञ्जलाई मुकाम बनाएर १५ वर्षदेखि सामाजिक र सञ्चार क्षेत्रमार्फत महानगरवासीको मन जितेका झा प्रत्यक्ष राजनीतिमा होमिएको भने धेरै भएको छैन। छोटो समयमै राजनीतिक चर्चा चुलिएका झा समुदायको विकास र संचार क्षेत्रमा पहिल्यै परीक्षण भइसकेका युवा हुन्। जो ‘सानो पाईला’ संस्थामार्फत सामुदायिक काम गरेर समाजमा उत्कृष्ट छाप पार्न सफल भएका छन्। त्यस्तै अलजजिरा च्यानलमा कार्यरत रहँदा पत्रकारिता क्षेत्रको प्रतिष्ठित अन्तर्राष्ट्रिय एमी अवार्डका लागि मनोनीत भई देशविदेशमा ख्याती पनि कमाएका व्यक्ति हुन् उनी। तर, सामाजिक कार्यमा आफूलाई प्रमाणित गरेपनि राजनीति भने उनका लागि विल्कुलै नौलो हो भन्दा हुन्छ।

वीरगञ्ज कांग्रेसमा उनीभन्दा धेरै समय राजनीति गरेका अनुभवी नेताहरू छन्। जो मेयरका स्वभाविक दाबेदार हुन्। तर, कांग्रेसले झालाई नै किन उम्मेदवार बनाउनुपर्ने ? कांग्रेसबाट वीरगञ्ज महानगरको मेयरका लागि उनको दाबीको आधार के ? कुन अर्थमा उनी आफूलाई अन्य उम्मेदवारभन्दा अब्बल ठान्छन् ? र, झाको आकांक्षालाई पार्टीले पत्यायो र जनताले पनि साथ दिइहाले भने उनले वीरगञ्जको विकासका लागि के योजना बुनेका छन् त ? यिनै विषयमा केन्द्रित रहेर हामीले उनै कञ्चन झासँग पाँच प्रश्न गरेका छौं।

- Advertisement -

प्रश्न- तपाईं कांग्रेसमा अझै परीक्षण नभइसक्नु भएकै अवस्थामा पार्टीले तपाईंमाथि विश्वास गरेर वीरगञ्ज महानगरको नेतृत्व गर्ने अवसर देला र ?

उत्तर- तपाईंले पक्कैपनि मेरो प्रत्यक्ष राजनीतिक यात्राको समयावधिलाई इंगित गरेर यो प्रश्न गरेको हुनुपर्छ जस्तो मलाई लाग्यो। मेरो बुझाइमा राजनीतिमा कोही पनि समय विताएकै भरमा मात्र परीक्षित हुँदैन। कसैले लामो समय संगठनमा प्रत्यक्ष सरिक भएर काम गर्‍यो भने ऊ परीक्षित हुने र कम समय काम गरेको व्यक्ति अपरीक्षित हुने भन्ने हुँदैन। पार्टीमा सबै सधैं प्रत्यक्षरूपमा जोडिएका हुँदैनन्। आस्था,विचार र सिद्धान्त मन परेर बाहिरैबाट सघाउनेहरूको संख्या नेपाली कांग्रेसमा विशाल छ।

अहिले नै हेर्नुस् न, हाम्रो पार्टीमा ८/९ लाख क्रियाशील सदस्य हुनुहुन्छ। चुनावताका जहिल्यै क्रियाशीलभन्दा दोब्बर/तेब्बर मानिस कांग्रेस जिताउन दिनरात नभनी खटिएका हुन्छन्। चुनावमै त्यसको ४/५ गुणासम्म मत आउँछ। यसको अर्थ पार्टी संगठन बाहिर बसेर पनि कांग्रेसका लागि थुप्रै मानिसहरूले काम गरिरहेका छन् भन्ने बुझिँदैन र ? फेरि, विभिन्न काम/पेशामा रहेर कांग्रेसको श्रीवृद्धिमा भूमिका निर्वाह गर्नेहरूको तप्का पनि त ठूलै छ।

मेरै हकमा कुरा गर्दा, मैले पनि त झन्डै १५ वर्ष वीरगञ्जकै समाज विकास विकासका लागि काम गरेको छु। राजनीति के समाजभन्दा बाहिरको कुरा हो र ? होइन नि। राजनीतिको ध्येय पनि त अन्तत: समाजिक विकास निर्माण नै हो। मेरा लागि सामाजिक क्षेत्रमा गरेको काम बरू प्लस पोइन्ट पो हो त। ‘पार्टी राजनीति गरेको छोटो समय भो’ भनेर त्यसैका आधारमा मात्र मेरो योगदानप्रति नजरअन्दाज गर्नेहरूलाई के भन्छु भने, मैले नेतृत्व गरेको संस्थामा उपलब्ध थोरै स्रोतसाधनको उच्चतम उपयोग गरेर कसरी अधिकतम लाभ लिन सकिन्छ भन्ने सामाजिक विकासको एउटा मोडेल स्थापित गरिसकेको छु। त्यो कुरा बुझ्नुपर्‍यो। कसैले थाहै पाउनु भएको छैन भने गएर हेर्दा-बुझ्दा पनि भो। मैले ठूलो दायरामा वीरगञ्जका लागि काम गर्न सक्ने भनेको राजनीतिक संस्थामार्फत मात्र हो। त्यसैले म अहिले यहाँ छु। कसैले पनि योभन्दा धेरैथोक सोच्नै पर्दैन।

प्रश्न- सबै उम्मेदवारहरू विकास-विकास भनिरहेका हुन्छन्। तर विकास ज्यूँका त्यूँ जस्तै छ। तपाईं पनि वीरगञ्जको विकास भएन भनिरहनुहुन्छ। तपाईंले सोचेको विकास चाहिँ कस्तो हो ?

उत्तर- सामाजिक विकास पूर्णत: आर्थिक विकाससँग जोडिएको हुन्छ। त्यसैले राजनीतिमार्फत अर्थ र समाजको रुपान्तरण सँगसँगै गर्ने ध्येयले म राजनीतिमा जोडिएको हुँ। सूचना तथा सञ्चार प्रविधिको विकास र बजारको फैलावटले समुदायलाई पछाडि छाडिदिएको अवस्था छ अहिले। मेरो मक्सद प्रविधि र बजारसँगै समुदाय पनि अघि बढ्नुपर्छ, यिनमा आपसमा सन्तुलन मिल्नुपर्छ भन्ने हो। असन्तुलित विकासले समाजमै असन्तुलन ल्याउँछ र दुर्घटना हुन पुग्छ।
समयक्रमसँगै आफै हुने विकासबाहेक थप कुनै विकास वीरगञ्जमा भइरहेको छैन। मैले सधैं भन्ने गरेको छु, वीरगञ्जको विकासको रफ्तार नै रोकिएको अवस्था छ अहिले। मेरो प्रमुख सोच भनेको प्रत्येक वीरगञ्जवासीको असामान्य बन्न पुगेको सामान्य चाहना, जस्तै: सीपमुलक र शुलभ शिक्षा, सहज स्वास्थ्योपचार, स्थानीयस्तरमै उचित रोजगारीको व्यवस्था, स्वस्थकर खानपान र सेवा-सुविधायुक्त पूर्वाधारहरूको प्रबन्ध गर्नु नै हो। जो अरूले पनि सायद भनिरहेकै छन्। तर मसँग यसलाई कसरी कार्यान्वयनमा लैजाने भन्ने वैज्ञानिक र प्रमाणित योजना छ। मलाई पार्टीले विश्वास गर्‍यो भने ती योजनाका पोकाहरू खोल्ने छु र सम्भावनाको सहर वीरगञ्जका बहुसंख्यक मतदाताहरूले पत्याउनुभयो भने कार्यान्वयनमा पनि लैजाने छु।

प्रश्न- महानगरहरूमा त गठबन्धनको कुराहरू पनि आइरहेको छ। वीरगञ्जमा कांग्रेसले मेयर दाबी गर्ने आधार के ? वीरगञ्जमा कांग्रेसले गठबन्धन नगरेर एक्लै जाने सोच बनाएको हो ?

उत्तर- राजनीतिक तालमेलमा एउटा सामान्य र स्वीकार्य कुरा के हुन्छ भने, तालमेल पक्षधर दलहरूबीचमा जुन ज्यादा बलियो छ, उसले बढी प्राथमिकता पाउँछ। यो हिशाबले वीरगञ्जको मेयरका लागि तालमेल पक्षधरले दाबी गर्ने अनि नेपाली कांग्रेसले छाड्ने भन्ने न्यायोचित देखिँदैन। त्यसैले हामीले मेयर पद छाडेर तालमेल गर्ने भन्ने प्रश्न नै आउँदैन। वीरगञ्ज कांग्रेसका हाम्रा अग्रज नेता ज्यूहरूको एउटै स्वर छ कि, मेयरको दाबेदारी गर्ने मात्र होइन, जितेर पनि देखाउने हो।
हामी एक्लै पनि वीरगञ्जमा जित्न सक्षम छौं। तर, संघीय सरकारका सत्ताघटक दलहरू स्थानीय तहमा पनि मिलेर जाऔं भनेर हैसियतअनुसारको प्रस्ताव राख्छन् भने हामी सदासयता देखाउन सकौंला। तर प्रमुख पद नै चाहियो, वडाध्यक्षको संख्या धेरै चाहियो भनेर कसैले डिमाण्ड गर्छ भने कांग्रेसले त्यतिधेरै सदासयता देखाउँदैन। मेरो व्यक्तिगत धारणा भन्नुपर्दा, तालमेल नगरेर सबै दलहरू चुनावी प्रतिस्पर्धामा जानुपर्छ भन्ने हो।

प्रश्न- वीरगञ्जमा कांग्रेस पहिलो शक्ति त होइन नि ?
उत्तर- वीरगञ्जमा विल्कुल पहिलो शक्ति हो, कांग्रेस। अघिल्लो स्थानीय तहको चुनावमा अमूक पार्टीले ल्याएको मत संख्यालाई मात्र आधार मानेर कसैले आफ्नो स्थान दाबी गर्छ भने त्यो सर्वथा गलत हुन्छ। हामीले राजनीतिक घटनाक्रमहरूलाई सापेक्षित तरिकाले हेर्नुपर्छ। त्यसबेला हामी मेयर पदमा करिब २ हजार मतले पछि परेर दोस्रो स्थानमा रह्‍यौं। उपमेयर जित्यौं। १० वटा वडा जित्यौं। हामी व्यवस्थापनमा अलिकति चुकेका पक्कै हौं। त्यसबेला झन्डै ८ हजार मत ल्याएको नेपाल फोरम लोकतान्त्रिक सिंगो पार्टी नै कांग्रेसमा समाहित भइसकेको छ। अरू पनि थुप्रै दलबाट नेता-कार्यकर्ताहरू कांग्रेसप्रति विश्वास गरेर आएका छन्। यसबाट के प्रष्ट हुन्छ भने, हामी प्रतिस्पर्धी भनिएका दलहरू भन्दा धेरै अगाडि छौं।

अर्कोकुरा, त्यतिबेला पहिलो भएको दलको अहिले रापताप घटेको अवस्था छ। कोही त्यहाँ स्वार्थ बोकेर पसेका छन् , कोही स्वार्थ बोकेर बाहिरिएका छन्। त्यो दल जनताको भन्दा पनि स्वार्थी तत्वहरूकका लागि प्रयोगशाला जस्तो भएको छ। एमालेको त झन् विजोगै छ। उसलाई पार्टीमा मान्छे भित्र्याउन पाए पुग्यो, अयोग्य, भ्रष्टाचारी, निकम्मा जे भएपनि उसलाई सदर छ। उसले त अहिलेसम्म जनताले थोरै भएपनि पत्याउन सक्ने मान्छे पनि वीरगञ्ज महानगरपालिकामा फेला पारेको छैन। यसको पर्याप्त प्रमाण हो, अहिलेका असक्षम मेयरको एमाले प्रवेश। माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले धरातल बुझेर वीरगञ्जमा मेयरको दौडमा उभ्याएकै छैन जस्तो मलाई लाग्छ। अहिले वीरगञ्जवासीले सबैको धरातल र क्षमता बुझिसकेका छन्। अन्तत: जनमन बुझ्ने र यथार्थपरक राजनीति गर्ने नेपाली कांग्रेस नै हो भन्ने साबित भइसकेको छ।

प्रश्न- अन्त्यमा, जनताले तपाईंलाई पत्याउलान् वा नपत्याउलान् पछिको कुरा भयो। त्योभन्दा अघि पार्टीले नै पत्याएन भने के गर्नुहुन्छ ?

उत्तर- पार्टीले पत्याउने वा नपत्याउने भनेर त्यसरी नहेरौं। हाम्रो पार्टीमा थुप्रै अनुभवी नेता ज्यूहरू हुनुहुन्छ। थुप्रै उर्जाशील कार्यकर्ताहरू हुनुहुन्छ। वहाँहरूले वीरगञ्ज र पार्टीका लागि समेत के गर्दा राम्रो हुन्छ भन्ने उचित समयमा उचित निर्णय पक्कै गर्नुहुन्छ। क्षमता भएका एक से बढकर एक व्यक्तिहरू हाम्रो पार्टीबाट आकांक्षी हुनुहुन्छ। जसले वीरगञ्ज महानगरलाई जनमनअनुसार हाँक्न सक्ने ल्याकत राख्नुहुन्छ। तर प्रमुख पद त एउटै छ। सबैलाई यसैपटक त्यो जिम्मेवारीमा पुर्‍याउन पनि सकिँदैन। त्यसैले कसैले उम्मेदवारी पायो भन्दैमा उ पत्याइएको र अरू नपत्याइएको भनेर भन्न मिल्दैन। हामी त पार्टीको प्रतिबद्ध सदस्य हौं। पार्टीले विधि-विधान र प्रक्रियाअनुसार जे निर्णय गर्छ, त्यसैलाई सधैं नै आत्मसात गर्छौं।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -