काठमाडौं ,
पाँच दलीय सत्ता गठबन्धनबीच लामो समयपछि बिहीबार छलफल भएको छ । स्थानीय तह निर्वाचनमा तालमेल र प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका सन्दर्भमा प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धन दलबीच तीन घण्टा छलफल भएको हो ।
नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताबीच मुख्यत पाँच विषयमा छलफल भएको नेताहरुले बताएका छन् ।
स्थानीय चुनावमा तालमेल
सत्ता गठबन्धन स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने सहमत भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले चुनावी तालमेल गरेर जाने निष्कर्ष निकालेको हो ।
यसका लागि प्रदेश, जिल्ला र गाउँपालिकास्तरीय संयन्त्र बनाउने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
तीनै तहका संयन्त्रले वस्तुगत तथ्य पेश गरेपछि तालमेलबारे थप निर्णय हुने उनको भनाइ छ । गठबन्धनले तीन तहको संयन्त्र बनाएर चैत २२ गतेसम्म केन्द्रमा रिपोर्ट पेस गर्न भनेको छ ।
काँग्रेसले खोज्यो सुदूर प्रदेशमा सत्ता
बैठकमा सुदूरपश्चिम प्रदेश सरकारमा काँग्रेसको सहभागिताबारे छलफल भएको छ । यसबारे नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल टर्कीबाट फर्किएपछि विस्तृतमा छलफल हुने बताइएको छ । सत्तासीन दल माओवादी केन्द्र र एकीकृत समाजवादी काँग्रेसलाई सरकारमा सहभागी गराउन सहमत भएपनि मन्त्रालयगत भागबण्डामा कुरा मिलेको छैन ।
सत्ताको नेतृत्व माओवादीले गरेपनि काँग्रेस सरकारमा सहभागी हुँदा एकीकृत समाजवादीले मन्त्री फिर्ता बेलाउनु पर्ने अवस्था छ । अहिले प्रदेश सरकारमा एकीकृत समाजवादीबाट ४ मन्त्री र ३ राज्यमन्त्री सहभागी छन् ।
अब सुदूरपश्चिमा एकीकृत समाजवादीलाई ४, माओवादी र काँग्रेसलाई २–२ वटा मन्त्रालय राखेर जान सकिने काँग्रेसको प्रस्ताव छ । यस्तै माओवादी र काँग्रेसले १–१ राज्यमन्त्री मिलाएर जाऊ भनेर प्रस्ताव राखेको काँग्रेस प्रदेश सभापति वीरबहादुर बलायरले बताए । सरकारमा सहभागी गराए मात्र सुदूरपश्चिममा गठबन्धन गर्ने काँग्रेसको अडान छ ।

